काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकालगायतका शहरी क्षेत्रका सडक किनारमा अलपत्र अवस्थामा रहेका तारको तत्काल उचित व्यवस्थापन गर्न आग्रह गरेको छ।
प्राधिकरणले सडक किनारमा टेलिफोन तथा बिजुलीको खम्बामा रहेका तथा लत्रिएका अनधिकृत तथा असुरक्षित तवरले राखिएका तारले शहरी सौन्दर्य बिगारेको उल्लेख गरेको छ।
त्यस्ता तारले आगलागी, विद्युतीय झट्का र सडकमा हिँड्ने पैदल यात्रु तथा सवारी साधन दुर्घटनाको कारण बनिरहेको भन्दै प्राधिकरणले त्यस्ता अनधिकृत तारको तत्काल व्यवस्थापन गर्न आग्रह गरेको हाे।
प्राधिकरणले खम्बाको स्वामित्व भएका नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमसँग आवश्यक समन्वय गरी एक महिनाभित्र तारको व्यवस्थापन गर्न आग्रह गरेको छ।
पहिचान खुल्ने चिह्न राख्न, तार व्यवस्थित गर्न र भुईंबाट झुन्डाएको तारको दूरीलगायत प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्न सूचित गरेको छ। सो समयभित्र अव्यवस्थित तारको व्यवस्थापन नगरेको खण्डमा प्राधिकरणले कानूनबमोजिम कारबाही गर्ने आज प्रकाशित सूचनामा उल्लेख छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।