कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण सेवाहरु आगामी ६ महिनामा धनगढीबाट दिइने बताएका छन्।
श्रम तथा रोगजार कार्यालय धनगढीमा स्थापना गरिएको वैदेशिक रोजगार डेस्क शुक्रबार उद्घाटन गर्दै मन्त्री सुवेदीले श्रम स्वीकृति लगायत वैदेशिक रोजगार विभागले दिने सम्पूर्ण सेवाहरु धनगढीबाटै दिनको लागि पहल भइरहेको बताए।
उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टसँग आउँदो ६ महिनामा अन्य सेवा विस्तारको लागि छलफल भएको बताए। उनले प्रदेश मन्त्रालयले पनि सुदूरपश्चिमका युवाहरुलाई प्रदेशबाटै वैदेशिक रोजगार सम्बन्धी सेवा दिने चाहना लिएर काम गरिरहेको बताए।
वैदेशिक रोजगारमा जाँदा पुनः श्रम स्वीकृति लिन काठमाडौं जाने बाध्यता हटेकोमा मन्त्री सुवेदीले खुसी व्यक्त गरे। सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था गरिनुपर्ने बताए।
कार्यक्रममा सेवाग्राहीहरूलाई पुनः श्रम स्वीकृति दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।