चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ। विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो ।
गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेपछि भर्ना प्रक्रिया स्थगन गरिएको हो।सो सङ्कायका डिन डा शारदा थपलियाले प्राध्यापक र विद्यार्थीबाट गुनासो आएपछि हालका लागि भर्ना स्थगन गरिएको बताइन्। भर्ना प्रक्रियामा कुनै अनियमितता नभएको भन्दै उनले यस विषयमा विरोध गरिरहेका प्राध्यापक, विद्यार्थीलगायतसँग छलफल गरी कुरा बुझाएर मात्र भर्ना लिने थपलियाको भनाई छ। विरोध गर्नेलाई वार्तामा बोलाएको बताउँदै उनले भर्ना प्रक्रिया नियमसम्मत भएकाले कुनै समस्या नहुने उनको दाबी छ।
प्रवेश परीक्षामा अनियमितता भएको भन्दै विश्वविद्यालयकै प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल विद्यार्थी सङ्घलगायतले विरोध जनाएका छन् भने नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले सो विषयमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।