दक्षिण कोरिया– पदमा रहँदा शक्तिको दुरुपयोग गरेको अभियोगमा कोरियाको सर्वोच्च अदालतका पूर्व मुख्य न्यायाधीश बिहीबार पक्राउ परेका छन्।
राजनैतिक तथा अन्य प्रभावका आधारमा शक्तिको दुरुपयोग गरेको भन्दै यहाँको सर्वोच्च अदालतका पूर्व मुख्य न्यायाधीश याङ सुङ—ताईलाई पक्राउ गरिएको हो।
याङले प्रमाणहरू नष्ट गर्न सक्ने भन्दै सउलस्थित जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। लगत्तै उनलाई पक्राउ गरी सउल कारागार हिरासतमा राखिएको जनाइएको छ।
४१ वर्ष लामो सेवा गरेका हाइप्रोफाइलका न्यायाधीश पक्राउ परेको कोरियाको इतिहासमा यो पहिलो घटना हो। ७१ वर्षीया याङले सन २०११ देखि २०१७ सम्म कोरियाको सर्वोच्च अदालतको नेतृत्व गरेका थिए।
उनीमाथि प्रमुख न्यायाधीश रहँदाको अवधिमा पूर्व राष्ट्रपति पार्क गुन हेई (यसअघि भ्रष्ट्राचारको मुद्धामा जेल परेकी) प्रशासनको पक्षमा काम गर्न राजनैतिक रुपमा डिलीङ गरेको, लाभ लिएको र अन्य न्यायाधीशहरुलाई पनि सोहीअनुसार गर्न दबाब दिएको, विपक्षमा लाग्ने न्यायाधीशलाई कारबाही गरेको लगायतका आरोप छन्।
सो अवधिमा पार्क प्रशासनले गरेका गलत निर्णयका मुद्दालाई पनि प्रभावमा परेर पार्क प्रशासनकै पक्षमा फैसला गरेको आरोप उनीमाथि छ।
सम्पूर्ण आरोपका प्रमाण रहेको अदालतले जनाएको छ। तर, आफूमाथि लागेका आरोपको अस्वीकार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।