काठमाडौं- आगामी फागुन २ गते काठमाडौंमा ‘नेपाल उद्यमशील सम्मेलन’ आयोजना हुने भएको छ।
नेपाल उद्योग परिसंघले सबै प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्ने उद्देश्यले सो सम्मेलन आयोजना गर्न लागिएको बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। सम्मेलनमा सबै प्रदेशमा उद्योग सञ्चालनको सम्भावनाका विषयमा विस्तृत छलफल गरिने छ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको उत्पादन प्रतिस्पर्धा गर्न लायक बनाउन पनि सो सम्मेलन आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए।
अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा परिसंघले आयोजना गर्न लागेको सो सम्मेलनमा नेपाल सरकार र निजी क्षेत्रका उद्यमीहरुबीच उद्योग सञ्चालन सम्बन्धी विस्तृत छलफल गराउने योजना पनि परिसंघले तय गरेको छ।
मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई साथ दिन सो सम्मेलन आयोजना गरिएको पनि अध्यक्ष शर्माले स्पष्ट पारे। परिसंघले नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि गर्न सो सम्मेलनले सघाउ पुर्याउने अपेक्षा लिएकाे जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।