डेभोस- बहिर्गमन (ब्रेक्जिट) प्रक्रियामा केही अन्याेल सिर्जना भएका कारण संयुक्त अधिराज्यमा कार्यरत केही फर्म तथा कम्पनीले लगानीका लागि असुरक्षाको वातावरण भएको बताएपनि बेलायत लगानीका हिसाबले विश्वको प्रमुख गन्तव्य भएको यहाँका व्यापार मन्त्रीले बताएका छन्।
बेलायत र यूरोपेली संघ छुट्टिने दिन करिब दुई महिना रहेका समय बहिर्गमन प्रक्रियामा केही अन्याेल सिर्जना भएको स्वीकार गर्दै स्वीट्जरल्याण्डमा सञ्चारकर्मीसँगको कुराकानीमा बुधबार मन्त्री लियाम फक्सले भने, 'ब्रेक्जिट प्रक्रियाबारे निर्णय नआउँदा संयुक्त अधिराज्यमा कार्यरत केही फर्म तथा कम्पनीले लगानीबारे संशय गर्नु स्वभाविक हो, तर यसको छिट्टै टुङ्गो लाग्छ।'
फर्म तथा कम्पनीहरूले स्थानान्तर गर्ने घोषणाबारे उनले लगानीका लागि कुनै पनि कम्पनी बाहिरिनु नपर्ने साथै उनीहरूको सुरक्षाका लागि सरकार दृढ रहेको उनको भनाइ छ। सोनी तथा डाइसन कम्पनीले बेलायतमा रहेका आफ्ना प्लान्टलाई स्थानान्तरण गर्ने घोषणा गरेको प्रसङ्गमा उनको उक्त भनाइ आएको हो।
एएफपीसँग डाभोसमा कुराकानी गर्दै उनले भने, 'संयुक्त अधिराज्य अहिले पनि र भोलि पनि वैदेशिक लगानीका लागि खुला छ र रहिरहने छ।' आफ्नो मुलुक वैदेशिक लागानीका लागि विश्वकै सुरक्षित गन्त्व्य भएको उनले दोहोर्याए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।