बेइजिङ- चीनको राजधानी बेइजिङमा स्थायी बसोबास गर्ने चिनियाँ नागरिकको जनसङ्ख्यामा सन् २०१८ मा ०.८ प्रतिशतले कमी आएको छ।
बुधबार सार्वजनिक चीनको सरकारी तथ्याङ्कअनुसार बेइजिङमा स्थायी बसोबास गर्ने नागरिकको सङ्ख्यामा आएको ०.८ प्रतिशतको गिरावटसँगै यहाँको जनसङ्ख्या दुई करोड १५ लाख रहेको बताइएको छ।
बेइजिङमा उमेरको आधारमा १५ देखि ५९ वर्षका स्थायी बासिन्दाको सङ्ख्या एक करोड ५६ लाख रहेको छ। यो शहरको सम्पूर्ण जनसङ्ख्याको ७२.६ प्रतिशत रहेको बेइजिङ महानगरीय तथ्याङ्क विभाग र बेइजिङस्थित राष्ट्रिय तथ्याङ्क विभागको संयुक्त सर्वेक्षणले देखाएको छ।
पछिल्लो तथ्याङकअनुसार बेइजिङमा १४ वर्ष मुनिका स्थायी वासिन्दाको सङ्ख्या २३ लाख रहेको छ, जुन यहाँको सम्पूर्ण जनसङ्ख्याको १० प्रतिशत हो। त्यसैगरी ६० वर्ष माथिको जनसङ्ख्या ३६ लाख अर्थात् १६.९ प्रतिशत रहेको छ।
सन् २०१७ मा बेइजिङको स्थायी वासिन्दाको जनसङख्या दुई करोड १७ लाख रहेको थियो, जुन सन् २०१६ को तुलनामा २२ हजारले कमी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।