काठमाडौं- ग्लोबल आइएमई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा महेशप्रसाद ढकाल नियुक्त गरेको छ।
बैंकका सिइओ जनक शर्मा पौड्यालले राजीनामा दिएपछि ढकाल नियुक्त भएका हुन्।
मेगा बैंकबाट तीन महिनाअगाडि मात्रै ग्लोबल आइएमई बैंकमा डेपुटी सिइओका रुपमा भित्रिएका ढकाललाई बैंक सञ्चालक समितिले कामु सिइओमा बढुवा गरेको हो।
ढकालको बैंकिङ करिअर नेपाल बैंकबाट सुरु भएको थियो। बैंकले ढकाललाई तत्काल कामु सिइओको जिम्मेवारी दिए पनि केही समयपछि सिइओ नै बनाउन लागेको स्रोतले जनाएको छ।
बैंकका अध्यक्ष चन्द्र ढकालको अव्यावसायिक र अनावश्यक दबाब सहन नसकेर सिइओ पौड्यालले राजीनामा दिएका थिए। अध्यक्ष ढकालले सिइओ पौड्याललाई राजीनामा गर्न बाध्य पार्न सहायक प्रमुख कार्यकारी अधिकृतमा ढकाललाई नियुक्त गरेका थिए। उनै अध्यक्ष ढकालले आफ्नो स्वार्थअनुरुप काम पूरा गराउन महेश ढकाललाई नै कामु सिइओमा नियुक्त गरेको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।