काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले विमानस्थल सेवा शुल्क बापत झन्डै १६ करोड बक्यौता भुक्तानीका लागि एक महिनाको समय पाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गत बिहीबार बक्यौता चुक्ता गर्न एक महिनाको समय दिएको हो। पुस २९ गते मात्रै हिमालयले कार्यालयलाई ५० लाख रुपैयाँ बुझाउँदै थप समय माग गरेको थियो।
एक महिना भित्र सबै बक्यौता चुक्ता गर्ने पर्ने सर्तमा समय दिइएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
‘एयरलाइन्सले बक्यौता चुक्ता गर्नका लागि १० दिनको समय मागेको थियो,' विमानस्थल कार्यालयका क्षेत्रीले भने, ‘एयरलाइन्सले मागेको समयभन्दा २० दिन बढी समय दिएका छौं।’ अब पनि समयमा बक्यौता चुक्ता नगरे सौर्य एयरलाइन्सको जस्तै उडान नै बन्द गरिदिने उनको भनाइ छ।
‘विमानस्थल कार्यालयले नेपाली वायुसेवा कम्पनी भएकै कारण केही सहजता गरिदिएको थियो’, क्षेत्रीले भने, ‘बक्यौता रकम बढ्ने क्रम नरोकिएपछि हिमालयलाई समयमै रकम चुक्ता गर्ने थप एक महिनाको सयम दिइएको हो।’
हिमालयले बाँकी बक्यौता रकम चुक्ता नगरे कानुनले दिएको अधिकार समेत प्रयोग गर्नुपर्ने क्षेत्री बताउँछन्।
नेपाल–चीन संयुक्त लगानीमा २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सल अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्दै आएको छ। पछिल्लो सयम हिमालय एयरलाइन्सले कात्तिक १ गतेदेखि काठमाडौं–चोङकिङमा चार्टर उडानमार्फत सिधा उडान गरिरहेको छ। यसबाहेक हिमालयले मलेसियाको क्वालालम्पुर, साउदीको अरबको दमाम, युएइको दुबई र कतारको दोहामा नियमित उडान गर्दै आएको छ।
विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० मा विमानस्थल कार्यालय प्रमुखले वायुयान कम्पनीले समयमै रकम दाखिला नगरेको अवस्थामा कारोबार रोक्कादेखि तत्काल उडान बन्द गराउन सक्ने उल्लेख छ।
नियमावलीको नियम ३० को एकमा नियमावली बमोजिम बुझाउनुपर्ने शुल्क समयमा नबुझाउने व्यक्ति वा संस्थालाई विमानस्थलबाट जारी भएको अनुमतिपत्र, सम्झौतापत्र वा अन्य कुनै कारोबार गर्न दिएको अनुमति विमानस्थल प्रमुखले स्थगन गरी विमानस्थलमा रहेको निजको सम्पत्ति रोक्का राखी निजको काम कारबाही वा व्यवसायमा रोक लगाउन सक्ने उल्लेख छ। साथै त्यसरी रोक लगाएको सूचना अबिलम्व प्रधान कार्यालयमा पठाउनुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।