काठमाडौं– कलाकार कर्म शाक्य, बक्सअफिसमा उति सफल छैनन् तर रंगमञ्चमा भने औधि रुचाइएको नाम हो। रंगकर्मका विभिन्न आयाममा खरो उत्रन सक्छन्, अभिनयमा विविधता दिन सक्ने उत्कृष्ट कलाकारको गिन्तीमा भने उनी छुट्दैनन् उनी। रंगमञ्चमा दिने अभिनयको विविधतालाई उनले पछिल्लो पटक चलचित्र पर्दामा पस्कने जमर्को गर्दैछन्। माघ ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र 'गरुड पुराण'मा उनी २५वर्षे ठिटोदेखि ६० वर्षे वृद्धसम्मको कमेडी क्यारेक्टरमा देखिँदैछन्।
चलचित्र ‘लुट’मार्फत दर्शकमाझ निकै राम्रो पहिचान बनाउन सफल कर्ममाथि पछिल्लो समय आरोप पनि लाग्ने गरेको छ, ‘उनलाई चलचित्र पाए पुग्यो, विषयलाई मतलब गर्दैनन्।’
रंगमञ्चमा पहिचान स्थापित गरिसकेको र ठूलो पर्दालाई पनि आफ्नो पहिचानमा जोड्ने ध्येय राख्ने कलाकारका लागि जस्तोसुकै क्यारेक्टरमा देखिनुले दर्शक तथा फ्यान–फलोवर्समा राम्रो सन्देश नजान सक्छ।
तर यस विषयलाई स्वयं कर्मा भने मान्न तयार छैनन्। ‘मलाई ‘चुजी’हुनुपर्छ जस्तो लाग्दैन, किनकि यतिबेला त्यति अफर नै आउदैन,’ उनी हाँस्दै भन्छन्, ‘पहिलापहिला केही स्क्रिप्ट पढिन्थ्यो। त्यसपछि कुनमा चाँहि गर्ने भनेर छनौट गरिन्थ्यो। तर यसको अर्थ अहिले चाँही जस्तोसुकै क्यारेक्टरका लागि म तयार हुन्छु भन्ने हैन। तर साथीभाईहरुको टिम मिल्ने फिल्मचाँहि एकपछि अर्को गरिरहेको हुँ।’
फिल्म ‘लुट–१’ पछिको समय निकै चर्चामा थिए कर्मा तर अहिले त्यो चर्चा टाढाको विषय बनेको स्विकार्छन् उनी। कारण देखाउँदै भन्छन्, ‘यस विषयमा मिडियाको ठूलो हात छ जस्तो लाग्छ। तर मेरो त्यतातिर उति ध्यान जाँदैन। अर्कातिर समयको माग पनि होला जे भए पनि मैले गर्नुपर्ने अभिनयको काम गरिरहेकै छु। वर्षमा एउटा राम्रो नाटकमा समय खर्चने गरेको छु। त्यसले मलाई काममात्र हैन सन्तुष्टि पनि दिन्छ।’
यसै प्रसंगमा उनले मिडियो प्रचारको एक किस्सा पनि सुनाउन भ्याए। भने, ‘मलाई अग्रज पत्रकारहरुले केही समयअघि सोध्नुभएको थियो, तपाईं नाटक गर्दै हुनुहुन्छ तर तपाईको कहीँकतै समाचार आउदैन त?' उक्त समय उनले प्रश्नको जवाफमा भनेका थिए, ‘कनेक्सन’ अर्थात् सञ्चारकर्मीहरुसँगको सम्बन्ध अलि कम भएर होला तर म मेरो कामबाट खुसी छु न कि प्रचारबाट।’
हुन त कर्मा अभिनय क्षेत्रमा मात्र छैनन्, आफू अन्य व्यवसायमा पनि छन् पछिल्लो समय कर्मा नोटिसनै नभएका प्रोजेक्टतिर व्यस्त छन्। राम्रा प्रोजेक्टका लागि आएका अफरलाई समय दिन नपाएको प्रति पनि दुःखी छन्। ‘म प्राय: दसैंबाट ३ महिना प्रत्येक वर्ष नाटकमा व्यस्त हुन्छु। यसले गर्दा सिजनमा बन्ने गरेका फिल्महरु धेरै छुटिरहेका हुन्छन्। त्यही समय राम्रा राम्रा फिल्महरुमा अफर आउँछ तर मसँग समयनै हुदैन। मेरा लागि आएका फिल्महरू कति हिट भए होलान् तर मैले समय दिन सँकिन।’
नाटकमै किन रमाउँछन् कर्मा
‘सन्तुष्टि’ सिधा जवाफ छ कर्माको, ‘मलाई फिल्मले भन्दा नाटकले बढि सन्तुष्टि दिन्छ। भलै आम्दानी कम होला।’ रंगमञ्चको रस भिजेका कर्मा रोमान्टिक बन्दै भन्छन्, ‘मलाई नाटक गर्नु भनेको पुनः ‘स्कुल जोइन’ गरे जस्तै लाग्छ। यही पाटोचाहिँ मलाई खुब रमाइलो लाग्छ।’ उनका अनुसार वर्षभर विभिन्न फिल्म र अन्य प्रोजेक्टमा समय खर्चंदा अभिनयको खास ‘टर्म्स एन्ड टेक्निक्स’ बिर्सिन्छ। तर नाटकका लागि समय छुट्टाइसकेपछि चाहिँ फेरि सबै कुरा पुनर्ताजगी हुन्छन्।
‘र त अभिनयको प्यास मेट्ने अवसर बन्छ रंगमञ्च,’ उनी भन्छन्, ‘म हरेक वर्ष ३ महिना प्रत्येक वर्ष नाटकका लागि खर्चन्छु। तर फिल्ममा यो समय खर्चने अवसर नै मिल्दैन।’
उनको बुझाइमा प्रत्येक फिल्म मेकरहरू समय लगानी गर्न हतारोमा हुन्छन। उनका अनुसार समय लगाएर, वर्कसप गरेर राम्रो फिल्म बनाउन तयार नै हुन्नन् चलचित्र निर्माता। उनी भन्छन्, ‘फिल्म निर्माणमा एकदमै हतारो गरिन्छ।’ सिंगो फिल्म उद्योगसँग प्रश्न गर्दै कर्मा भन्छन्, ‘म कुनै फिल्ममा १ वर्ष समय दिएर काम गर्न तयार छु तर यहाँ त्यस किसिमको उत्कृष्ट फिल्म बनाउन कोही इच्छुक नै छैनन्, अनि कसरी नेपाली फिल्म राम्रो बन्न सक्छ?’
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’मा भने निर्देशक सुवास कोइरालाले धेरैथोरै भए पनि छलफल गरेर मेहनत गर्ने अवसर दिएको तर्क छ उनको। त्यसैले अभिनय करियरमा ‘गरुड पुराण’ले एउटा इँटा थप्नेमा आशावादी छन् कर्मा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।