काठमाडौं- थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डको ‘ए’ टिममाथि फराकिलो अन्तरको जित हात पारेको छ।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा बुधबार बिहान भएको खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो। जितसँगै नेपाल लगातार ४ खेल जितेर समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
थाइल्याण्डले दिएको २० रनको लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेटको क्षतिमा पार गर्योन। नेपालले १५ मिनेट खेलेर लक्ष्य पार गरेको थियो। नेपालको तर्फबाट ओपनिङमा आएकी ममता चौधरी ८ रनमा आउट भइन्। उनले ९ बलमा १ चौका हिर्काइन्। नेरी थापाले नटआउट ५ र डोली भट्टले नटआउट २ रन जोड्दा नेपालले १५ मिनेटमै लक्ष्य पार गर्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्ड १५.४ बलमा १९ रनमै अलआउट भयो। थाइल्यान्डका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा नेपालको तर्फबाट आरती बिडारीले ३ विकेट लिइन्। इन्दु बर्मा र सरिता मगरले २-२ विकेट हात पारे। कप्तान रुबिना क्षेत्री, सोनु खड्का र सीता रानामगरको नाममा १-१ विकेट रह्यो।
प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका थिए।
जारी प्रतियोगितामा ४ खेल खेलेको नेपालले ४ खेलमा जित हात पार्दै ८ अङ्क जोडेको छ। शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो आइतबार भएको दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको थियो सोमबार भएको तेस्रो खेलमा नेपालले युएइलाई ६ विकेटले हराएको थियो।
रुविना क्षेत्रीको कप्तानीको नेपाली टोलीमा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन्।
विभिन्न १० टोलीको सहभगिता रहेको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेशिया र थाइल्याण्डको ए टोली छन् । समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।