काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताएका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको उल्लेख गरे।
'भूकम्पले खानेपानीका धेरै संरचनामा क्षति पुर्यायो, ती संरचना खानेपानी मन्त्रालय, प्राधिकरण र स्थानीय तहसँगको सहकार्यमा पुनर्निर्माण हुन्छ', प्रधानमन्त्री ओलीले भने, 'पुनर्निर्माण सबैको साझा कर्तव्य हो मिलेर जानुपर्छ।'
पुनर्निर्माणका कानुनले औचित्यपूर्ण आवश्यकतालाई पूरा नगरे परिवर्तन गरिनेमा उनको जोड थियो। निजी आवास पुनर्निर्माणमा जोखिमपूर्ण वर्गमा परेकालाई प्राथमिकता दिने, अनुगमनलाई अझ प्रभावकारी बनाउने, स्थानीय तहसँग समन्वय गर्ने, दुई वर्षमै पुनर्निर्माणका काम सक्ने गरी बाँकी समयलाई उपयोग गरिने कार्ययोजना प्रधानमन्त्री ओलीले सुनाए।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूकम्प कम प्रभावित १८ जिल्लाको पुनर्निर्माण सुस्त रहेकाले साेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। भूकम्पछि बन्ने एकीकृत बस्तीलाई जीविकोपार्जनसँग जोडिनुपर्ने उनको भनाइ थियो। भूकम्पपछि खानेपानीको मूल सुकेकाले त्यसको अध्ययन गर्न प्राधिकरणलाई मन्त्री ज्ञवालीले सुझाव दिए।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुरक्षा निकाय, शिक्षण एवम् स्वास्थ्य संस्थाका भवन पुनर्निर्माणमा प्राथमिकता दिइनुपर्ने मत राखे। सांसद हरिबोल गजुरेलले विपन्न वर्गका भूकम्पपीडितलाई कम्तीमा २ लाख रुपैयाँ अनुदान थप्न माग गरे।
सांसदहरु पार्वत गुरुङ, पम्फा भुसाल, प्रेम सुवाल, यज्ञराज सुनुवार, अग्निप्रसाद सापकोटा लगायतले पुनर्निर्माणमा स्थानीय तहलाई जिम्मेवार बनाइनुपर्ने, खानेपानीको संरचना पुनर्निर्माणमा ध्यान दिइनुपर्ने, गुम्बाको पुनर्निर्माण हुनुपर्नेलगायत माग गरेका थिए।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले वर्तमान सरकार गठन भएपछि पुनर्निर्माणले गति लिएको तथ्याङ्क प्रस्तुत गरे। हालसम्म ३ लाख ४७ हजार ८ सय १७ घर पुनर्निर्माण भएको उनले जानकारी दिए।
भूकम्पले ८ लाख ११ हजार १ सय ५४ घरमा क्षति पुगेको थियाे। क्षति पुगेका घर लाभग्राही सूचीमा समावेश भएका छन्। ७ लाख ४९ हजार १ सय ५५ घरधनीसँग पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ। ७ लाख ४१ हजार ७ सय ९९ लाभग्राहीले पहिलो किस्ताबापत ५० हजार रुपैयाँ पनि बुझिसकेका छन्।
प्राधिकरणका अनुसार ५ लाख ७८ हजार ८ सय ४७ घर पुनर्निर्माण सुरु भएको छ। ६१ हजार ५ सय ९१ घर प्रबलीकरण सूचीमा समावेश भएका छन्। प्रबलीकरण लाभग्राही सूचीमा परेकाले दुई किस्तामा १ लाख रुपैयाँ अनुदान पाउने कार्यविधि छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।