टीकापुर– गत साउनमा आएको बाढीले घरबारविहीन भएका परिवार अझैं त्रिपालमुनि बस्न बाध्य छन्।
साउनको अन्तिम साता आएको बाढीका कारण टीकापुरमा करिब २ हजार परिवार प्रभावित भएका थिए भने कैयौं परिवार विस्थापित भएका थिए।
बाढीबाट विस्थापित भएकी टीकापुर नगरपालिका–६ भर्तापुरका रामकुमारी चौधरीले भनिन्, ‘बाढीले घर भत्कायो। अहिले गोठमा बसिरहेका छौं।’ उनको चार जनाको परिवार दुई महिनादेखि गोठमा बास बसिरहेको छ।
भर्तापुरकै धनकली विकको परिवार एउटा गैरसरकारी संस्थाले दिएको त्रिपाल टा“गेर बसेको छ। उनी भन्छिन्, ‘अझै कहिलेसम्म त्रिपालमा बास हुने हो थाह छैन।’
त्यस्तै, भर्तापुरकै दुर्गादेवी बुढाको परिवारले पनि भत्केको घरमा प्लास्टिक र कपडाको पर्दा हालेर गुजारा चलाइरहेको छ। त्यस्तै, जोगिराम रावतले खर नपाएका कारण घरको छानोसमेत हाल्न नपाएको गुनासो गरे।
टीकापुर नगर प्रमुख तपेन्द्रबहादुर रावलले बाढीबाट विस्थापित भएकाहरूको एक साताभित्र पूर्ण विवरण संकलन गरी राहत वितरण गरिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।