भीमदत्तनगर- कञ्चनपुरमा भौतिक पूर्वाधार निर्माणले तीव्रता पाएको छ । गत आर्थिक वर्षमा ४२ वटा पुल निर्माणको ठेक्का लागेको र यस वर्ष काम अघि बढ्ने डिभिजन सडक कार्यालय कञ्चनपुरले जनाएको छ।
अघिल्ला वर्ष बढीमा ६ वटासम्म पुल बनेको भन्दै कार्यालयका इञ्जिनियर खगेन्द्रबहादुर शाहीले गत आर्थिक वर्षको ठेक्कामा रेकर्ड तोडिएको बताए । उनले भने, 'कञ्चनपुरले विभागीय मन्त्री पाएकाले पनि गत वर्ष यहाँ धेरै नदी, खोलानालामा पुलका लागि पैसा परेको हो।'
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको पालामा उक्त बजेट विनियोजन गरिएको हो । शाहीले कैलालीमा पनि २१ वटा पुल बन्न लागेको बताए।
कञ्चनपुरको दोधारा चाँदनीस्थित बाबाथान जोड्ने मलेरिया नाला, सोही क्षेत्रको मैनाल नाला, भीमदत्तनगर–ब्रह्मदेव जोड्ने कामीकाटेँ खोला पुल, शुक्लाफाँटा नगरपालिकाको जाडेपानी खोला पुललगायत जिल्लाभर करिब १५ मिटरदेखि १६० मिटर लम्बाइ सम्मका पुल निर्माणको चरणमा छन्।
अघिल्लो आर्थिक वर्षमा कञ्चनपुरमा ठेक्का भएका ६ वटा पुलसहित ७ वटा पुलको निर्माण भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।
'ठेक्का सम्झौता भएका पुलमध्ये ७ वटा पुलको निर्माण सुरु भइसकेको छ', इञ्जिनियर शाहीले भने, 'अन्य ठेक्का सम्झौता भएका पुलको निर्माण अब तत्काल सुरु हुन्छ।'
पुल निर्माणका लागि पुलको लम्बाइअनुसारको डेढ वर्षदेखि तीन वर्षसम्मको समय ठेकेदारलाई दिइएको छ।
चालू आर्थिक वर्षमा पनि कञ्चनपुरमा नयाँ थप ६ वटा र कैलालीमा पाँच वटा पुल निर्माणको ठेक्का हुने डिभिजन सडक कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।