काठमाडौं- सांसदहरुले समसामयिक र क्षेत्रगत समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले डाक्टर गोविन्द केसीको माग सम्बोधन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद सीतादेवी यादव र ज्ञानेन्द्रबहादुर कार्कीले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै उनीसँग भएको सम्झौता कार्यान्वयन गरी अबिलम्ब माग पूरा गर्न सरकारसँग माग गरे। सांसद कार्कीले डाक्टर केसीको माग सम्बोधन नभए गम्भीर दुर्घटना निम्तने भन्दै अबिलम्ब माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद विनाकुमारी श्रेष्ठ र शशि श्रेष्ठले संसद सचिवायले निजी बैंक नभई सरकारी बैक राष्ट्रिय वाणिज्य बैंकमार्फत संसद सचिवालयको खाता सञ्चालन गर्न माग गरे। सांसद श्रेष्ठले चमेनागृहमा राखिएको भिन्नाभिन्दै बोर्ड हटाउन पनि सचिवालयको ध्यानाकर्षण गराइन्।
सांसद लालकाजी गुरुङले समानुपातिक सांसदहरुलाई सरकारले विभेद गरेको भन्दै बजेट विनियोजनमा समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद विन्दा पाण्डेले महिनावारी हुँदा छाउगोठमा राखेमा दण्ड सजाय हुने कानुनी व्यवस्था रहेकोमा त्यसबारे भएको कारबाही र जनचेतनाका लागि भएका प्रयासबारे संसदलाई जानकारी गराउन माग गरिन्।
सांसद शान्तिमाया तामाङले दोलखाको प्रमुख पर्यटकीय गन्तव्य कालिन्चोकमा सार्वजनिक जग्गाको अतिक्रमण बढेको र सो क्रममा उत्पन्न विवाद सुल्झाउने पहल गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद हरिराज अधिकारीले सांसदहरुका लागि आवास बनाउने भनिएको स्थानमा मन्त्री निवास बनाउन लागेको भन्दै सो निर्णय पुनर्विचार गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।