काठमाडौं– नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ।
परापूर्वकालदेखि माघे संक्रान्ति पर्वका अवसरमा गोरु जुधाउने प्रचलन रहिआएको छ।
रसुवा–नुवाकोट पर्यटन समाजले नुवाकोटको बेत्रावती, तारुका, घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो।
नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए।
तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिए।
सो अवसरमा पर्यटन व्यवसायीद्वय रामशरण थपलिया र दीपक महतले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथ बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए।
तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करिब दुई सय वर्ष पुरानो मानिन्छ।
तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ। मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौं, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गर्दछ।
यस्तै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ। पछिल्लो ६ वर्षदेखि बेत्रावतीमा माघे संक्रान्तिमा गोरु जुधाइँदै आएको छ।
यसवर्ष आठ हल गोरुको दर्ता भइसकेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले जानकारी दिए।
प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बिमाको व्यवस्था गरिएको छ। विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ।
१२ वर्षदेखि यो पर्वलाई मनाउन प्रमुख राजनीतिक दलले चक्रीय प्रणाली अपनाएका छन्।
मेला सञ्चनाल गर्ने विषयमा स्थानीयबासीबीच मनमुटाब बढ्दै गएपछि चक्रीय प्रणालीमा मेला सुरु गर्न थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।