कञ्चनपुर- भारतको उत्तराखण्डको रुद्रपुरबाट छ जना नेपाली युवतीको उद्धार गरिएको छ।
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्याइएका सिन्धुपञ्लाचोकका युवतीको माइती नेपाल कञ्चनपुरले सीमावर्ती बजार वनवासामा रहेको मानव बेचबिखनविरुद्धको इकाइको सहयोगमा उद्धार गरिएको हो।
रुद्रपुर प्रहरीले शंका लागेर सोधपुछ गर्दा अवैध रूपमा दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएको भेटिएपछि मानव बेचबिखनविरुद्धको इकाइ र माइती नेपाललाई खबर गरेका थिए। युवतीका साथबाट भारतीय प्रहरीले राहदानी र अन्य वैदेशिक रोजगारसम्बन्धी कागजपत्रसमेत फेला पारेको छ।
उद्धार गरिएका युवतीको उमेर २० देखि २५ वर्ष रहेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन्। उद्धार गरिएका युवतीहरुलाई रुद्रपुरमै राखिएको छ।
यसैबीच, मानव तस्करीमा संलग्न तीनजनाविरुद्ध भारतको रुद्रपुरस्थित अदालतमा मानवबेचबिखन विरुद्धको मुद्दा दर्ता गरिएको संयोजक भट्टले बताइन्। उनका अनुसार सिन्धुली टाँडीकी नानीमाया माझी, पर्साका विष्णु लोप्चन र सिन्धुपाल्चोकका सोमबहादुर गोलेविरुद्ध रुद्रपुरमा मुद्दा दर्ता गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।