काठमाडौं– भारतीय कम्पनी क्रिस ह्वाइट ब्रिक्स एलएलपीले नेपाली बजारमा एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक भित्र्याएको छ। घर तथा भवनका संरचना निर्माणका लागि परम्परागत इँटाको तुलनामा यी ब्लकको लागत ३० प्रतिशत कम हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार फ्लाई एसबाट बनेको यो ब्लकलाई वातावरणमैत्री मानिन्छ।
‘रातो इँटामा जस्तो खेर जाने प्रतिशत यसमा लगभग शून्य हुने हुँदा पैसा हालेर किनेको सामान त्यसै फाल्नुपर्ने बाध्यता ग्राहकलाई रहँदैन,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ले जोड्न सकिने हुँदा गारो लगाउँदा सिमेन्ट र बालुवामा हुने खर्च बचत गर्न सकिन्छ।’
आवासीय घर, कार्यालय भवन, बहुतल्ले भवन, व्यापारिक कम्प्लेक्स, अस्पताल, विद्यालय, होटल जस्ता संचरना निर्माणमा यसको प्रयोग गर्दा इँटाको लागत २० प्रतिशत हाराहारीमा र श्रमिक खर्च ५० प्रतिशतभन्दा बढी घटाउन सकिने विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार यो ब्लकले संरचना तयार गर्दा भित्री भागमा प्लास्टर गर्नु पर्दैन । यसो हुँदा भित्री प्लास्टरमा लाग्ने सामान र श्रमिक खर्च जोगिन्छ। बाहिर पनि १० एमएम मात्र प्लास्टर गरे पुग्ने भएकोले प्लास्टरमा प्रयोग हुने सिमेन्ट, बालुवा र श्रमिक खर्च जोगिन्छ। गारोले कम स्पेस ओगट्ने हुँदा यो ब्लक प्रयोग भएको भवनका कोठा तुलनात्मक रुपमा फराकिला हुन्छन्।
एएसी ब्लकको थर्मल कन्डक्टिभिटी रातो इँटाको केडब्लु–एम/सी ०.८१ को तुलनामा निकै कम अर्थात २० प्रतिशत मात्र हुने र यसमा रहेको वायु छिद्रले उच्चस्तरीय थर्मल इन्सुलेसन प्रदान गर्ने हुँदा एयर कन्डिसनसर सञ्चालनमा खर्च हुने बिलुलीको बिल ३० प्रतिशतले घटाउन सकिन्छ। यसको थर्मल कन्डक्टिभिटी केडब्लु–एम/सी ०.१६ मात्र हुने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।