नैरोवी- संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले केन्यामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न आह्वान गरेका छन्।
राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेर्रेस र अफ्रिका संघका अध्यक्ष मौसा फाकी महमतले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा निर्वाचनलाई अवसरको रुपमा उपयोग गर्न आह्वान गरिएको छ।
सरोकारवाला दलहरु, स्वतन्त्र निर्वाचन आयोग लगायतले निष्पक्ष, स्वतन्त्र र मर्यादित निर्वाचनलाई सुनिश्चीत गर्नका लागि नजिक भएर काम गर्न पनि वक्तव्यमा आग्रह गरिएको छ।
केन्यामा यही अक्टोबर २६ तारिखका दिन पुनः राष्ट्रपतीय निर्वाचन गर्नेगरी सरकार र निर्वाचन आयोगले तयारी गरेको छ। 'यो निकै संकटपूर्ण अवस्थाबाट मुलुकलाई स्थायित्व र शान्तितर्फ लैजानका लागि काम गर्नु आवश्यक छ,' वक्तव्यमा भनिएको छ।
दुवै संघले निर्वाचनलाई अवसरको रुपमा व्याख्या गरिरहँदा प्रमुख प्रतिपक्षी दलका नेता राईला ओडिङ्गाले निर्वाचन बहिष्कार गरेका छन्। उनले अहिलेको निर्वाचनमा पनि यसअघिको निर्वाचनमा झै धाँधली हुने र निर्वाचन निश्पक्ष हुन नसक्ने भन्दै निर्वाचन बहिस्कार गरे।
यसअघि भएको निर्वाचमा ओडिङगासँग प्रतिस्पर्धा गरेका राष्ट्रपति उहुरु केन्याटा विजयी भएका थिए। तर उनले धाँधली गरेर जितेको भन्दै अदालतमा मुद्दा परेपछि अदालतले धाँधली भएको ठहरसहित पुनः निर्वाचन गराउन आदेश भएबमोजिम पुनः निर्वाचन हुन लागेको हो।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।