काठमाडौं– राजधानीको म्हैपीमा आइतबार बिहान भएको गोलीकाण्डमा प्रहरीले दुई युवाबीच विवादको कारण बनेकी डान्सर युवती विरुद्ध पनि ज्यान मुद्दा दर्ता गरेको छ । गोली हान्ने असुन गुरुङ र डान्सर युवती (नाम गोप्य राखिएको) विरुद्ध प्रहरीले सोमबार ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको हो।
युवतीकै विषयलाई लिएर भएको विवादमा असुनले कल्याण गुरुङमाथि गोली हानेका थिए । दुवै जना विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।
उनीहरुसँगै पक्राउ परेका सिएनआई डिस्कोका मालिक नवराज लामिछानेलाई सार्वजनिक अपराध मुद्दा चलाइएको छ । पेस्तोलसहित डिस्कोमा छिर्दा पनि राम्रो चेकजाँच नगरेकाले लामिछानेमाथि मुद्दा दायर गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेलबहादुर पाण्डेले बताए।
सोही डिस्कोका डिजे सुरेन्द्र शाहीलाई भने छाडिएको छ।
यसरी भएको थियो घटना
ठमेलको डान्सबारमा नाच्ने युवती गत शनिबार राति बार बन्द भएपछि एक साथीसहित सिएनआई डिस्कोमा गइन् । बार राति १२ बजे बन्द हुने तर डिस्को २ बजेसम्म खुल्ने उनी त्यहाँ पुगेकी थिइन्।
सिएनआईमा युवतीको चिनजान कल्याण गुरुङको समूहसँग भयो । उनीहरुले सँगै बसेर मदिरा पिए । केही समयपछि असुन गुरुङ सोही डिस्कोमा पुगे । सो डिस्कोका नियमित ग्राहक रहेका डिजे सुरेन्द्र शाहीले असुनको चिनजान युवतीसँग गराइदिए । युवती कल्याणभन्दा असुनसँग नजिक भइन् ।
दुई बजे डिस्को बन्द भएपछि उनी पैदल घर फर्कंदै थिइन् । कल्याण र उनका साथीहरुले युवतीलाई आफूहरुसँग जान प्रस्ताव गर्दै पछ्याइरहे पनि उनले मानिनन् । त्यसपछि पनि उनीहरुले लगातार पछ्याइरहे । त्यसै क्रममा उनले असुनलाई फोन गरेर बोलाइन्।
एकैछिनमा असुन गाडीमा आइपुगे । सोह्रखुट्टेको ओरालोबाट युवतीलाई गाडीमा राखेर उनी अघि बढे । कल्याण बा ५७ प ६९५७ नम्बरको स्कुटी लिएर गाडीको पिछा गर्न थाले । कल्याण र असुनबीच डिस्कोमै विवाद सुरु भइसकेको थियो ।
म्हैपीको बहतीपोखरीस्थित मिड प्वाइन्ट स्नुकर हाउस नजिकै कल्याणले स्कुटी हुइँक्याउँदै गाडी अगाडि लगेर रोके । सगुनले पेस्तोल निकालेर उनको तिघ्रामा एक फायर गरे । कल्याणलाई गोली लागेपछि उनका साथीहरु पनि हच्किए । त्यसपछि असुन अगाडि बढे।
आइतबार बिहानै प्रहरीले असुन र युवतीलाई पक्राउ गर्यो।
‘युवतीकै विषयको विवादका कारण गोली चलेको देखिन्छ’, एसएसपी रविन्द्र धानुक भन्छन्,‘सबै पक्षले मदिरा पिएकाले पनि सो घटना भएको अनुसन्धानमा पाइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।