डडेल्धुरा– डडेल्धुराको सदरमुकाममा एक हप्ताको समयमा तीनवटा आगलागीका घटना घटेका छन्।
मध्यराति घटेका ती घटनालाई स्थानीयले शंकाको नजरले समेत हेरेका छन्।
गत शुक्रबार बागबजारको लक्ष्मी किराना पसलमा आगलागी भएको थियो। त्यसपछि बुुधवार एक खोकामा मध्यराति आगलागी भयो।
आगलागीको यो शृखंलाको क्रममा बिहीबार बागबजारकै तीन पसल जलेर नष्ट भएका छन्। सधैंजसो आगलागीका घटना हुनु रहस्यमय भएको स्थानीय व्यापारीहरुले शंका गरेका छन्।
उनीहरूले यस्ता घटनाबाट सबैलाई त्रसित समेत बनाएको बताउँछन्। बजारमा दिन–दिनै आगलागी हुँदा व्यापारहरूको मनोबल घटाइरहेको व्यापारी केशव महताले बताए।
‘दिनदिनै बजारमा आगलागी भइरहेको छ। हामी व्यापारीहरूको मनाबलमा नराम्रो प्रभाव पारिरहेको छ। उनले भने,‘रातिको समयमा आगलागी कसरी भइरहेको छ। यसको बारेमा पनि पत्ता लागेको छैन। सायद कसैले आगो लगाइरहेका छन् कि? बाहिरबाट हेर्दा लगाइरहेको जस्तो पनि देखिन्छ।’
पसलहरुलाई सुरक्षित राख्न रातभर जागराम बस्नुपर्ने अवस्था आएको उद्योग वाणिज्य संघ डडेल्धुराका कोषाध्क्ष दीपक महताले बताए।
तीनवटै घटनामा अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो।
बुधबार र एक साता पहिले २ वटा पसलमा आगलागी हुँदा करिब २७ लाख बराबरको क्षति भएको थियो भने बिहीबारको आगलागीबाट ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
जिल्ला सदरमुकाम बागबजारमा एकै हप्तामा लगातार तीनपटक आगलागी भएको घटनामा आशंका भएको र घटनाको नियन्त्रणका लागि सर्वपक्षीय बैठक बसी छानबिन समिति बनाइएको अमरगढी नगरपालिकाले जानकारी दिएको छ।
सदमुकाम बागबजारमा सिसीक्यामरा जडानको लागि पछिल्लो समय शुक्रबार मात्र नगर कार्यपालिकाले निर्णय गरेको छ भने पाँच लाख राहत दिनेसमेत निर्णय गरिएको नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले बताए।
बिहीबार बागबजारस्थित बगरबाटामा करिब ११ बजेर ४० मिनेट जाँदा भएको अगलागीमा ३ पसल जलेर पूर्ण रुपमा नष्ट भएका छन्। उक्त आगलाीमा समेत लाखांैको क्षती भएको बताइएको छ।
तीन वटै आगलागीका घटानाको कारण भने खुल्न सकेको छैन। उता यी घटनाबारे बोल्दैे जिल्ला प्रशासन कार्यालाय डडेल्धुराले समयमा थाहा भएकोले आगो नियन्त्रण भई कुनै मानविय क्षति नभएको बताएको छ।
क्रमागत रुपमा घटेका यी घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन भइसकेको र सबै सरोकारवालासँग समन्वय गरेर घटनाको छानबिन अगाडी बढाउने कार्यालयको भनाइ रहेको छ।
सुख्खा मौसमका बेला देशभरी नै आगलागीका घटना घटिरहेका छन्। तर, डडेल्धुराको सदरमुकाममा घटेका यी घटनालाई लिएर यहाँका स्थानीय व्यापारी सशंकित बनेका छन्।
३ पटक लगेको आगोले ५ पसलको ८६ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।