जनकपुर– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले खराब आचरणका प्रहरी कर्मचारीलाई संगठनबाट हटाउने कार्य भइरहेको बताएका छन्।
रौतहट सदरमुकाम गौरमा जडान गरिएको सिसिटिभी क्यामेराको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै आइजिपी खनालले राष्ट्रको सुरक्षा गर्ने प्रहरीले नागरिकको मन जित्न निष्ठावान भएर इमान्दारीतापूर्वक काम गर्नुपर्ने बताए।
केही प्रहरी कर्मचारीले गरेको गल्तिको कारण सिङ्गो संगठन नै बदनाम भइरहेकोले त्यस्ता खराब आचरणका प्रहरी कर्मचारीलाई संगठनबाट हटाउने कार्य भइरहेको उनले बताए।
इन्फरमेसन टेक्नोलोजी प्रविधिलाई अपराधीहरूले अहिले सहजै रुपमा प्रयोग गरेर टाढैबाट विभिन्न किसिमको अपराध घटाउने गरेको कारण नेपाल प्रहरीलाई अनुसन्धानमा निकै चुनौती थपिएको उनले बताए।
उनले अपराध न्यूनीकरण तथा नियन्त्रणका लागि सोही अनुरुप प्रहरी संगठनको क्षमता अभिवृद्दि गराएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।