काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले नेपालमा उत्पादन भएका कृषि सामग्री विश्व बजारमा पुर्याउने लक्ष्य सरकारले लिएको बताएका छन्।
शुक्रबार टोखा नगरपालिकामा 'ग्रिन वर्ल्ड एग्रो फार्म एण्ड रिसर्च सेन्टर' अवलोकनका लागि पुगेका मन्त्री खनालले कृषि पेसामा युवाको सहभागिता बढाउँदै लैजाने र नेपाली युवालाई कृषि पेसामार्फत रोजगारीका अवसर सिर्जना गरिने बताए।

सरकारले कृषिमा लगानी गरेर कृषि पेसामैत्री वातावरण बनाउन प्रयास गरिरहेको उनले भने। 'नेपालमा उत्पादन भएका कृषि साम्रगी विदेशी बजारमा निर्यात गर्ने लक्ष्य सरकारले लिएको छ,' उनले भने, 'ढुक्क भएर कृषि पेसामा लाग्न युवालाई आग्रह गर्छु। नेपाललाई जसरी भएपनि कृषि प्रधान देशका रुपमा विकास गर्ने लक्ष्य सरकारको छ।’
टोखा नगरपालिका– ३ झोरमा जापानिज र इजरायली प्रविधि अपनाएर सय रोपनी जग्गामा कृषि खेती र कृषि सम्बन्धी रिसर्च सेन्टर निर्माण हुँदैछ।
जगत गुरु उपाध्याय, अमित गुरुङ र भेषप्रसाद श्रेष्ठले उक्त सेन्टर निर्माण गरेका हुन्। उनीहरुले करिब ५ करोड लगानीमा कृषि फार्म र रिसर्च सेन्टर सञ्चालनमा ल्याउन लागेको बताएका छन्।
फार्ममा १२ महिना तरकारी उत्पादन हुने, तरकारीका साथ माछा पालन, कुखुरा र कलिज पालन गर्ने उनीहरूले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।