काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना संकलनको साथै हरेक अपराधिक क्रियाकलापको निगरानी गरी प्रमाणको आधारमा अनुसन्धान गर्न प्रविधिमैत्री पुलिसिङको आवश्यकता रहेको बताएका छन्।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रौतहटको गौरमा १० स्थानमा जडान गरिएको सिसीटिभी तथा मोनिटर कक्षको उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।
खनालले गौर नगरपालिकाको तर्फबाट जोडिएका उक्त सिसीटिभी जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्रविधि सहित हस्तान्तरण समेत गरेका थिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले प्रविधिमैत्री पुलिसिङलाई सिसीटिभी जडान कार्यले महत्वपूर्ण योगदान दिने चर्चा गर्दै सूचना संयन्त्रलाई अझै मजबुत बनाउने क्रममा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिसीटिभी जडान गरिएको बताए। यस कार्यबाट आपराधिक गतिविधि निगरानी गरी अनुसन्धानमा सप्रमाण सहयोगी भूमिका निर्वाह हुने उनले बताए।
कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यलाय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिबहादुर पाल, जिल्ला समन्वय समितिका सभापति, रौतहट जिल्लास्थित विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।