जनकपुर– नेकपाका प्रदेश सांसद किशोरी साह कमलले घर भाडाबापत लिएको रकम फिर्ता गर्ने भएका छन्।
प्रदेशको अस्थायी राजधानी जनकपुरमा घर हुँदाहुँदै सरकारबाट घरभाडा बापतको रकम लिँदै आएका उनले बिहीबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै आफ्नो खातामा आवास सुविधाबापत अहिलेसमम आएको सम्पूर्ण रकम फिर्ता लिन आग्रह गरेका छन्।
प्रदेश सांसद साहले अब उपरान्त आफू आवास सुविधाबापतको रकम नलिने भन्दै खातामा नपठाउन समेत प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन्।
केही दिनअघि विभिन्न सञ्चारमाध्यमहरूमा प्रदेश–२ को अस्थायी राजधानी ‘जनकपुरमै घर हुँदाहुँदै घरभाडा लिँदै प्रदेश सांसद’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।
सञ्चारमाध्यमहरूमा समाचार प्रकाशन भएपछि जनकपुर मै घर रहेका सांसदहरूलाई घरभाडा फिर्ता गर्नुपर्ने दबाब परेको छ।
तर, १४ जना प्रदेश सांसदहरू घरभाडाबापतको रकम लिए पनि अहिलेसम्म नेकपा सांसद किशोरी साह कमल बाहेकका अन्य कुनै सांसदले घर भाडा फिर्ता गर्ने घोषणा गरेका छैनन्।
जनकपुर मै घर भए पनि यसरी घरभाडा लिने सांसदहरूमा कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव, राजपाका सुरिता साह, ज्यनुल राइन, रिना यादव, जानकीशरण साह र परमेश्वर साह, कांग्रेसका मञ्जुकुमारी यादव, सरस्वती चौधरी, प्रमिला दास र शिवचन्द्र चौधरी, नेकपाका रामचन्द्र मण्डल र किशोरी साह, संघीय फोरमका कौशल यादव र रामआशिष यादव रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।