जनकपुर– प्रदेश २ सरकारले माघ १ गते र माघ ५ गते सार्वजनिक विदाको घोषणा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते मकर संक्रान्ति (माघी) पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
त्यस्तै मधेश आन्दोलनका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ।
२०६३ साल माघ ५ गते मधेश विद्रोहको क्रममा सिराहाको लहानमा रमेश महतोले सहादत दिएको दिनलाई मधेशमा बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ।
त्यसैगरी प्रदेश २ सरकारले कर्मचारीको स्थायी पदपूर्तिको लागि प्रक्रिया थाल्ने भएको छ।
संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको छ।
बैठकले लोकसेवा विधेयकलाई स्वीकृत गर्दै प्रदेश सभामा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।