एजेन्सी - फ्रान्सको ‘प्रथम कुकुर’ नेमोले त्यहाँको राष्ट्रपति भवन एलिजी प्यालेसको फायरप्लेस (अगेनु)मा तुक्र्याएको भिडियो सार्वजनिक भएको छ।
राष्ट्रपति इमानुएल माक्रोंको कुकुर नेमोले एलिजी प्यालेसको अगेनुमा तुक्र्याएको भिडियो विभिन्न सञ्चारमाध्यम र इन्टरनेटमा भाइरल भएको छ।
भिडियोमा ल्याब्राडोर र ग्रिफिन जातका कुकुरको ठिमाहा कालो नेमोले राष्ट्रपति म्याक्रों आफ्नो तीन जना प्रशासनिक अधिकारीसँग कुराकानी गरिरहेका बेला अगेनुमा तुक्र्याएको देखिएको छ।
‘म केको आवाज आयो भनेर गम्दै थिएँ,’ राष्ट्रपति माक्रोंसँग कुराकानीमा सहभागी पर्यावरण राज्यमन्त्री ब्रुने प्वार्सोंले हाँस्दै भने।
राष्ट्रपति माक्रोंले आफ्नो कुकुर नेमोले अनौठो र अचम्मलाग्दो काम गरेको प्रतिक्रिया दिए। फ्रान्सेली टेलिभिजन च्यानल टिएफ वनले कुराकानीको छायांकन गरिरहेका बेला पृष्ठभूमिमा नेमोले अगेनुमा तुक्र्याएको देखिन्छ।
योजना राज्यमन्त्री जुलियन दनोर्मान्दीले प्रायजसो नेमोले यस्तै गर्छ कि भनेर सोधेकी थिइन्। ‘तपाईंले मेरो कुकुरको बानी बिगारि दिनुभयो,’ राष्ट्रपति माक्रोंले हाँसेर जिस्कँदै जवाफ फर्काए। फ्रान्समा राष्ट्रपतिले ‘प्रथम कुकुर’ राख्ने परम्परालाई निरन्तरता दिँदै नेमो पहिलोपटक राष्ट्रपति माक्रोंसँग गत अगस्टमा देखिएको थियो।
प्रथम महिला ब्रिजित र राष्ट्रपति माक्रोंले जनावर उद्धार केन्द्रबाट २ सय ५० युरोमा खरिद गरी ल्याएको बताइन्छ । फ्रान्सको प्रथम कुकुरले राष्ट्रपतिलाई दुःख दिएको यो पहिलोपल्ट होइन।
त्यहाँको अनुसन्धानमूलक वेबसाइट मिडियापार्टका अनुसार यसअघि निकोलस सार्कोजीको कुकुरले पनि एलिजी प्यालेसका महँगा फर्निचरमा क्षति पु¥याएको र तिनको मर्मतसम्भारमा हजारौं युरो खर्च भएको थियो।
ज्याक सिराकको प्रथम कुकुर फूच्चे सेतो माल्टिज सुमोले राष्ट्रपति भवन र त्यहाँको विशाल बगैंचा छाडेर निस्कन नमानेर सिराकमाथि नै झम्टेको बेलायती अखबार द गार्डियनले उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।