जनकपुर– प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले बनाउने कानुनहरू दलितमैत्री हुने बताएका छन्।
प्रदेश राजधानी जनकपुरमा बिहीबारदेखि सुुरु भएको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धी ‘प्रादेशिक सम्मेलन’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राज्यको हरेक निकायमा दलित समुदायको सम्मानजनक प्रतिनिधित्वका लागि ऐन र कानुन दलितमैत्री हुने बताए।
प्रदेश–२ मा दलित समुदायको जनसंख्या १८ प्रतिशत रहे पनि राज्यका निकायहरूमा सम्मानजनक प्रतिनिधित्व हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले बनाउने हरेक कानुनमा दलितको सहभागिता जनसंख्या अनुकुल हुने आश्वासन दिए।
उनले दलित समुदायले अधिकार नपाएसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएकाले अधिकार सुनिश्चित हुनुपर्ने बताए।
समाजमा रहेका छुवाछुत, भेदभाव र समाजिक अपराध शिक्षाले मात्र सुधार हुने भएकोले प्रदेश सरकारले दलित समुदायलाई शिक्षामा विशेष कार्यक्रम सञ्चालन गर्न लागेकोे बताउँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले दलित सशक्तिकरण ऐन प्रदेश सभामा पेस गर्ने तयारीमा रहेको जानकारी दिए।
मुख्यमन्त्री राउतले राज्य संयन्त्र इमान्दार नभएकाले विभेद अन्त्यका लागि बनेका ऐन कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।