मेरो त
निधारै अक्करे भीरजस्तो छ
नाम्लोको डाम र ढुंगाको खत कुँदिएको।
यो थाप्लामा
पसिना पनि अडिन मान्दैन
लत्रँदै नाकबाट सुकेको ओठ भिज्न आइपुग्छ
म माटो लागेकै हातले पुछिदिन्छु निधार
तिम्रोजस्तो पंखा बनाउन
कहाँ छ र मसँग टोपी
म बिसु पासवान
यही माटो उधिनेर जीवन बित्न लागिसक्यो
एक थान टोपी किन्न सकेको छैन।
मैले त फेटा गुथेर शिरलाई
शीतलहरबाट बचाइरहेको छु
चप्पलसँग चुरापोते साट्न
टाउकोमाथि कुम्लो बोकी
डमरू बजाउँदै पहाडको उकालो चढिरहेको छु।
लजाइलजाइ लगाएको थिएँ टोपी
पहाडबाट भगाएर दुलही
शिव–मन्दिरमा सिन्दुर हाल्न लाग्दा
पुजारी बा’ कड्केपछि लगाएको थिएँ
त्यो पनि मधेस झर्दा चुरेमै हरायो
यति वर्षपछि
आज अचानक तिम्रो सहरले
मेरो नांगो टाउको अराष्ट्रिय घोषणा गर्यो
के गर्नु आफ्नो त
निधारै अक्करे भीरजस्तो
माफ गर्नुस् सरकार!
तपाईंको राष्ट्रिय गीतले भनेझैं
मेरो टोपी कैलाशको शिरजस्तो छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।