काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका विवाद र असन्तुष्टि सडकमा हुने भाषण तथा भेला मार्फत समाधान गर्न नसकिने बताएका छन्।
उनका अनुसार सत्तामा रहँदा होस् वा प्रतिपक्षमा, काँग्रेसभित्र बारम्बार देखिने भागबन्डा केन्द्रित प्रतिस्पर्धाले संगठनलाई कमजोर बनाइरहेको छ।
भण्डारीले आन्तरिक शक्ति संघर्ष र व्यक्तिगत महत्वाकांक्षाका कारण इमानदार कार्यकर्ता पाखा लाग्ने अवस्था बनेको टिप्पणी गर्दै पार्टीको वर्तमान अवस्थाप्रति प्रश्न उठाएका छन्। उनले विगतका गलत छनोट र आन्तरिक प्रतिस्पर्धाले आजको चुनौतीपूर्ण अवस्था सिर्जना गरेको दाबी गरेका छन्।
उनले बदलिँदो राजनीतिक परिस्थितिमा केवल पुराना शक्ति संरचनामा भर पर्न नसकिने उल्लेख गर्दै नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै प्रतिस्पर्धा थप जटिल बनेको बताएका छन्।
भण्डारीले पार्टी सुधारका लागि महाधिवेशनलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिँदै संगठनात्मक संरचना, नेतृत्व चयन र वैचारिक स्पष्टतासहित ठोस परिवर्तनको प्रस्ताव अघि सार्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार समयानुकूल निर्णय, प्रविधिको उपयोग र विस्तृत संवादमार्फत मात्रै संगठनलाई सुदृढ बनाउन सकिन्छ।
पूर्व सभापति शेरबहादुर देउवा निकट नेताहरूप्रति संकेत गर्दै उनले विगतमा सत्तामा रहेका नेताहरूले अहिले बाहिरबाट मात्र टिप्पणी गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। भागबन्डाको प्रक्रियामा इमानदार कार्यकर्ता उपेक्षित भएको अवस्थालाई बुझ्न नसके इतिहासले मूल्यांकन गर्ने चेतावनी पनि उनले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।