पेरिस – ब्राजिलियन फरवार्ड नेइमारले रातो कार्ड पाएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बराबरी खेलेको छ। अन्तिम समयमा इडिन्सन काभानीले गोल गरेपछि पिएसजीले मार्सेलीसँग २–२ गोलको बराबरी खेलेको हो।
फ्रेन्च लिगको शीर्ष स्थानमा रहेको पिएसजी सिजनमा दोस्रो पटक बराबरीमा रोकिएको हो। यद्यपी पिएसजी लिगमा एक्लो अपराजित टिम हो।
घरेलु मैदानमा भएको खेलको १६ मिनेटमा लुइस गुस्ताभोले ३० यार्ड टाढाबाट दर्शनिय गोल गरेर मार्सेलीलाई अग्रता दिलाए। तर ३३ मिनेटमा नेइमारले बराबरी गोल गर्न सफल भए। कीर्तिमानी २ सय मिलियन पाउन्डमा पिएसजीमा यहि सिजन आवद्ध भएका नेइमारले सिजनमा १०औं गोल गरेका हुन्।
तनावपूर्ण खेलमा पिएसजीका फ्यानलाई मार्सेलीको घरेलु मैदानमा प्रवेश निषेध गरिएको थियो। दुई पक्षका फ्यानबीच झडप हुने स्थिति आएपछि पुलिसले पिएसजीका फ्यानलाई प्रवेश निषेध गरेको थियो। खेलमा मार्सेलीका फ्यानले कर्नर प्रहार गर्न गएका नेइमारलाई बोतलले प्रहार गरेका थिए।
७८ मिनेटमा फ्लोरियन थाउभिनले गोल गरेपछि मार्सेली २–१ ले अघि बढेको थियो। खेल सकिन ३ मिनेट बाँकी छदा नेइमार रातो कार्डको सिकार बन्दै मैदान छाड्न बाध्य भए। नेइमारले दुई मिनेटको बीचमा दोस्रो पहँलो कार्ड पाएका थिए। मार्सेलीका लुकास ओकाम्पोसलाई फल गरेपछि नेइमारले दोस्रो पहँलो कार्ड पाएका थिए।
इन्जुरी टाइमको तेस्रो मिनेटमा काभानीले फ्रिकिक मार्फत दर्शनिय गोल गरेपछि पिएसजीले सम्भावित हार टार्न सफल भयो।
लिगको शीर्ष स्थानमा रहेको पिएसजीले १० खेलबाट २६ अंक जोडेको छ। दोस्रो स्थानको मोनाकोको २२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।