दमासकस, सिरिया- सिरियास्थित अमेरिका समर्थित फौजले उत्तरी प्रान्त देर आजेरमा रहेको एक महत्वपूर्ण तेल खानीलाई इस्लामिक स्टेट आइएस विद्रोहीको नियन्त्रणबाट फिर्ता लिएको बताएको छ।
युफ्रेटिज नदीको पूर्वमा पर्ने देर अजोरमा रहेको अल ओमार तेल खानीबाट सिरियामा द्वन्द्व सुरु हुनुअघि प्रतिदिन ३० हजार ब्यारेल तेल निकालिने गरेकोमा सन् २०१४ मा विद्रोहीले खानी आफ्नो नियन्त्रणमा लिएको थियो। इस्लामिक स्टेट (आइएस) जिहादी समूहले यसलाई आफ्ना गतिविधि सञ्चालन गर्ने प्रमुख आम्दानीको स्रोत बनाउँदै आएको थियो।
सिरियाको सबभन्दा ठूलो मध्येको अल ओमार तेल खानीमाथि आफ्नो पूर्ण नियन्त्रण कायम भएको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) ले जनाएको छ। कुर्दिश तथा अरब लडाकुहरुको संयुक्त गठबन्धन एसडीएफका अनुसार कारबाहीका क्रममा उनीहरूतर्फ त्यति ठूलो क्षति भएको छैन।
एसडिएफका लडाकुहरुले देर अजोरमा आइएस विद्रोहीविरुद्ध लामो समयदेखि लडाइँ गरिरहेका छन्। एसडिएफले गत महिनो एउटा ठूलो ग्यास खानी कब्जामा लिएको थियो। युफ्रेटिज नदीको पश्चिमपट्टि भने रुसी सेनाको सहयोगमा सिरियाली सरकारी सेना आइएस विरुद्ध युद्धरत छ।रासस/एएफ्पी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।