काठमाडौं– आइतबार बिहान म्हैपीमा गोली प्रहार भएको घटनामा प्रयोग भएको पेस्तोल कालिमाटीमा फेला परेको छ।
कालिमाटीस्थित खाली जमिनमा लुकाएको अवस्थामा पेस्तोल फेला पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए। प्रहरीले उक्त पेस्तोलका दुई वटा गोली पनि बरामद गरेको छ।
ठमेलको हुक्काबारकी डान्सर सबिना क्षेत्रीको विषयमा भएको विवादमा असुन गुरुङले कल्याण गुरुङलाई आइतबार बिहान गोली प्रहार गरेका थिए। कल्याणको तिघ्रामा गोली लागेको छ।
ठमेलको हुक्काबारबाट सविना सिएनआई क्लब पुगेकी थिइन्। क्लबमै थिए कल्याण र असुन। रमझमपछि सविना क्लबबाट निस्किइन्। तर कल्याण लगायतको समूहले उनलाई सँगै जान भन्दै पछ्याउन थाल्यो। उनी मानिनन् र असुनलाई फोन गरेर बोलाइन्। कारमा पुगेका असुनले सविनालाई पनि बाटैबाट पिकअप गरे। तर स्कुटीमा रहेका कल्याणको समूहले पिछा गर्दै कार रोक्ने प्रयास गरे।
यही विवादका क्रममा असुनले कल्याणमाथि गोली चलाएको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले युवतीकै कारण उब्जिएको विवादले घटना भएको बताए।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले ठमेलको सिएनआई क्लबका सञ्चालक नवराज लामिछानेलाई समेत पक्राउ गरेको छ। गोली हान्ने असुनलाई सहयोग गरेको आरोपमा उनी पक्राउ परेका हुन्। क्लबकै कर्मचारी सगुन शाहीलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।