कविता : अराजक प्रेम  

नवीन प्यासी | २०७५ पौष १४ शनिबार | Saturday, December 29, 2018 १०:२८:०० मा प्रकाशित

म जासुस प्रेमको चिहानमाथि सुतेको एउटा प्रेमी!

उठेर यो चिहानबाट 
म दुनियाँको एउटा यस्तो प्रतिबन्धित बाटोमा हिड्न चाहन्छु
जहाँ तिमी र मलाई मात्र हिड्न छुट होस्।

जहाँ तिम्रो सुगन्ध चोर्ने बतास ग्याँस च्याम्बरमा बन्दी होस्,
जहाँ तिम्रो सुन्दरता चाहिने फूलहरू हिरासतमा होउन्,
जहाँ तिम्रो मुस्कान कुरिरहेको क्षितिजमा अँध्यारो छाइसकेको होस्।

हिँड्दै गर्दा तिमीले‍...
अचानक मेरो हात समातेर मुटुमा आतंक मच्याइदिनु–

चन्द्रमाले हड्बडाएर आफ्नो अक्षमा हिँड्न बिर्सियोस्
र सम्झाओस् औँसीले अंगालोभरीको अँध्यारो पठाएर,
बादलहरु अतालिएर कोकोहोलो गरुन्
र खसालुन् पानीको केही हरफहरु तिम्रो केसको सम्राज्यमा!
रात आफैं डराएर कुलेलाम ठोकोस्
र छोडोस घाँटी थिचिएको एकजोर उज्यालो बिहानी।

जहाँ तिम्रो भाकामा भाका मिलाउने 
चराहरूको चुच्चामा खतराको संकेत होस्,
जहाँ तिम्रो वैशालु घाँघरभित्र छिरेर बिलिन हुन खोज्ने 
तिम्रै आफ्नो छायालाई काँडेतारको बार होस्,
जहाँ तिम्रो चौबन्दीको कुर्सीमा बसेर मेरो आँखालाई खिसी गर्ने
पहरेदार तुनालाई सत्ताच्युत गरिएको होस्।

म तिम्रो पैतालाको छापहरू पनि मेटिएको देख्न चाहान्छु
ताकी ती छापहरू पहिल्याउँदै–पहिल्याउँदै
कोही पनि तिम्रो पाउजुको संगीत सुन्न नआइपुगुन्।

जसरी आइपुग्दैन किरणहरुको रङ 
मंसिर पुसले कोरेको शितलहरको स्केचसम्म।
जसरी आइपुग्दैन गुडेको चक्का पछ्याउँदै–पछ्याउँदै 
चक्काले नै कुल्चेको सुदुर ठाउँको माटोको मन।
जसरी आइपुग्दैन भाग्यरेखाहरू बिपनाको जहाज चढेर
खुसीको लगेज घिसार्दै–घिसार्दै जीवनको एयरपोर्टसम्म।

उसैगरी नआइपुगोस् झुक्किएर पनि पुतलीहरूको जुलुस 
तिमीले टेकेको भूगोल वरिपरि...

जहाँ तिम्रो रुप पिएर लरखराउने ऐनामा ढुङ्गाहरु ठोक्किउन्,
जहाँ तिम्रो आँसुको ब्यापार गर्ने नदीमा बगरहरुले छापा मारुन्,
जहाँ तिमीलाई अलमल्याउने सहरमाथी समयले युद्ध छेडोस्।

म जासुस प्रेमको चिहानमाथि सुतेको एउटा प्रेमी!

उठेर यो चिहानबाट 
म दुनियाँको एउटा यस्तो प्रतिबन्धित बाटोमा हिँड्न चाहन्छु
जहाँ तिमी र मलाई मात्र हिँड्न छुट होस्।

र नहोस् रोइरहेका सल्लाहरुको देशमा चखेवाको जवानी हराएको गीत।