काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पछिल्लो ९ महिनामा निजी आवास पुनःनिर्माणतर्फ थप १ लाख ८० हजार घर निर्माण भइरहेको दाबी गरेको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनरावलोकन प्रतिवेदन अनुसार पछिल्लोे ९ महिनामा थप १ लाख ३० हजार २ सय ७३ लाभग्राहीको घर निर्माणाधीन अवस्थामा छ भने थप ५० हजार २ सय १७ घर बनिसकेका छन्।
गत पुस मसान्तसम्म जम्मा निर्माणाधीन घरको संख्या १७ हजार ९९ थियो भने निर्माण सम्पन्न घरको संख्या ११ हजार ८ सय ७१ थियो।
प्राधिकरणको निर्देशक समितिको बैठक अनुसार निजी आवास अनुदानका लागि समयसीमा निर्धारण गरिएकाले पनि घर बनाउनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो। प्राधिकरणले अनुदान सम्झौता गरिसकेका सबै लाभग्राहीले निजी आवास पुनःनिर्माणका लागि आगामी असार मसान्तसम्म सबै किस्ता लिइसक्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।
साथै विभिन्न निकायबाट प्राप्त भएका करिब २ लाख ५ हजार बढी गुनासोलाई फछ्र्यौट गरी ४० हजार ९ सय ६७ घरधुरीलाई लाभग्राहीमा समावेश गरिएको, पुनःनिर्माण तथा अनुदान वितरण सम्बन्धी कार्यविधि संशोधन गरिएकाले पनि निजी आवास पुनःनिर्माणले तुलनात्मक रुपमा गति लिएको प्राधिकरणको विश्लेषण छ।
यस्तै, मापदण्ड अनुसार नबनेका घरलाई मापदण्ड पुर्याई अनुदान लिनका लागि अपवाद तथा सुधार पुस्तिका तयार गरी प्राविधिकहरुलाई तालिम दिई समस्या समाधान गर्न जिल्ला पठाइएकाले पनि थप अनुदानबाट वञ्चित भएका धेरै लाभग्राहीले दोस्रो र तेस्रो किस्ताको रकम पाएका छन्।
हालै सरकारले ल्याएको भुकम्प प्रभावित क्षेत्रमा बन्दै गरेका घर धितो राखेर ३ लाख रुपैयाँ निब्र्याजी ऋण दिने व्यवस्थाले पनि पुनःनिर्माणलाई थप गति दिने प्राधिकरणको अपेक्षा छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले भने, ‘समग्र पुनःनिर्माणको अवस्थालाई हेर्दा केही ढिलाइ देखिए पनि पछिल्लो ९ महिनाको प्रगतिलाई हेर्दा निराश हुने अवस्था छैन। निजी आवास पुनःनिर्माणले गति लिएको तथ्यांकले नै पुष्टि गर्छ।’
पोरखेलले इन्डोनेसियामा पुनःनिर्माण सुरु भएको ८ वर्षमा र पाकिस्तानमा ५ वर्षमा स्थायी संरचना निर्माण भएको उदाहरण दिँदै नेपालमा त्यसभन्दा कम समयमै पुनःनिर्माण सक्ने दाबी गरे।
‘भारतको गुजारतसँग तुलना गर्दा हाम्रोमा पनि केही ढिलाइ भएकै हो,’ पोखरेलले भने, ‘तर, स्रोत–साधनको उपलब्धता र सरोकारवाला निकायबीच समन्वय भए तोकिएकै समयमा पुनःनिर्माण सम्पन्न हुन्छ।’
प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार भुकम्प अतिप्रभावित १४ जिल्लामा असोज मसान्तसम्म ८५ हजार बढी घरधुरीले दोस्रो किस्ता बुझिसकेका छन््। १ लाख ६ हजार बढी लाभग्राहीले दोस्रो किस्ता भुक्तानिका लागि निवेदन दिएको र करिब ९७ हजार लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानिका लागि प्रमाणीकरण गरिएको छ।
यस्तै, ९ महिनाअघि २ सय शैक्षिक संस्था निर्माण सम्पन्न भएकोमा हाल यो संख्या २ हजार ४ सय ५६ पुगेको प्राधिकरणले जनाएको छ। शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख इमनारायण श्रेष्ठले भुकम्पबाट क्षतिग्रस्त ८ हजार ९ सय २३ शैक्षिक संस्थामध्ये अहिलेसम्म ४ हजार ३ सय ८१ शैक्षिक संस्था निर्माणाधीन र निर्माण सम्पन्नको चरणमा रहेको बताए।
यसैगरी, स्वास्थ्य संस्था, सरकारी भवन र खानेपानी पूर्वाधार लगायतको क्षेत्रमा पनि पुनःनिर्माण कार्यले पछिल्लो ९ महिनामा गति लिएको प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।