कांग्रेस वृत्तमा वैचारिक अधिवेशनका रुपमा लिइने महासमिति बैठकको बन्दसत्रमा जानुअघि नेता गगन थापाले एउटा व्यंग्यमिश्रित ट्विट गरे, ‘आजदेखि महासमितिको बन्दसत्र सुरु हुँदैछ। अतीतका कुरा धेरै गरिसक्यौं, अब वर्तमानमा के गर्ने छलफल गरौं, तय गरौं।’
ट्विटमा थप उल्लेख थियो, ‘हामी हाम्रा संस्थापक नेताको सपना पूरा गर्ने कुरा गरिराख्छौं, कम्तीमा सपना देख्ने साहस त हामी आफैं गरौं। यसको भारी पनि स्वर्गीय श्रद्धेय नेताहरुलाई कहिलेसम्म?’
महासमिति सुरु हुनअघि काठमाडौंका मुख्य सडकमा निकै तामझामसहित राखिएका द्वारमा ठूलाठूला अक्षरमा लेखिएको थियो, ‘गौरवशाली इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य।’
यसैप्रति लक्षित थियो, उनको त्यो ट्विट। महासमितिको त्यो नारालाई उनले वर्तमानको किंकर्तव्यविमूढ अवस्थाबाट लुक्न इतिहासको महिमामा भुल्ने बहानाका रुपमा बुझे।
विगतप्रति बढ्ता मोह, आगत अस्पष्ट
नेता थापाले भनेझैं कांग्रेसमा बढ्तै अतीतमोह देखिन्छ। सरकारको आलोचना गर्न उभिएको मञ्चमा समेत कांग्रेस नेताहरु आफ्नो अतीतको गाथा निकै गाइरहेका हुन्छन्। अतीतको वैशाखी टेकेर सरकारका विरुद्ध खनिँदै गर्दा उनीहरुसँग वर्तमानका एजेन्डा खासै हुँदैनन्, भविष्यको त कुरै छाडौं।
राजधानीमा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म चलेको महासमिति बैठकमा प्रस्तुत चार प्रतिवदेनमा पनि अतीतमोह राम्रैसँग व्यक्त भएको छ।
उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनदेखि महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक, सहमहामन्त्री डा प्रकाशशरण महतको आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवेदनमा समेत राम्रैसँग त्यसलाई उल्लेख गरिएको छ।
तर, गगन थापा लगायतको एउटा समूह अतीतका गीत गाएर मात्रै आगत (वर्तमान) मा नपुग्ने निचोडमा छ। ‘निःसन्देह कांग्रेसको विगत गौरवशाली छ,’ थापा र नेता प्रदीप पौडेलले एक अखबारमा महासमिति बैठकका सन्दर्भमा लेखेको संयुक्त आलेखमा उल्लेख छ, ‘आमनागरिकले गौरवशाली इतिहासको चस्माबाट हेरेर मात्रै हाम्रो भविष्यको आँकलन गर्दैनन्, वर्तमानको कर्मबाट भविष्यको सम्भावनाको मूल्यांकन गर्छन्।’
कांग्रेसको सैद्धान्तिक र वैचारिक पुनःव्याख्याको आवश्यकता यो समूहले देखे पनि महासमिति बैठक यस्ता विषयमा खासै प्रवेश नगरी सकियो। नयाँ परिवेशमा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, आर्थिक–सामाजिक नीति र छिमेकसँगको सम्बन्धको सामयिक व्याख्या हुनुपर्ने उनीहरुको माग थियो, जसबाट कांग्रेसको आगत प्रष्ट हुनेमा उनीहरुको विश्वास समेत थियो।
चुनावी पराजयका बारेमा आफूविरुद्ध तिखा टिप्पणी हुने र आफूले आत्मआलोचना गर्नुपर्ने अवस्था आउन सक्नेबारे देउवा जानकार थिए। उनी लगायतको नेतृत्वले आत्मालोचना पनि गरेन, चुनावी पराजयको समीक्षा पनि भएन।
कांग्रेस नेता प्रदीप पौडेल कांग्रेसलाई नीतिगत रुपमा प्रष्ट पार्ने सवालमा महासमिति बैठक चुकेको र मुस्किलले पास मात्रै भएको बताउँछन्। ‘यो समापन हुँदा आम जनमानसलाई उत्साहित पार्नेगरी सन्देश दिन सकेन,’ महासमिति बैठकको समीक्षा गर्दै उनले भने, ‘वर्तमान र भविष्यबारे वैचारिक प्रष्टता भएन। अहिले बलियो वाम सरकार छ। यसका गलत काममा बलियो ढंगले प्रदिवाद गर्ने खाका आउन सकेन। महासमिति मुस्किलले पास भयो ।’
यस्ता विषयमा बहस जारी राख्नुपर्ने खाँचो देख्छन् पौडेल। ‘अब हामी वैचारिक कुरामा प्रष्ट हुनुपर्छ, आर्थिक नीतिमा स्पस्ट हुनुपर्छ,’ उनको भनाइ छ, ‘पार्टीमा व्यापक सुधार आवश्यक छ तर कसरी भन्नेमा छलफल गर्नुपर्छ। कस्तो समाजवाद भन्ने कुरामा पनि छलफल आवश्यक छ। यो विषय गम्भीर भएकाले अहिले नै निष्कर्ष निकाल्न सकिन्छ भन्ने होइन, तर बहस जारी राख्नु जरुरी छ।’
विश्लेषक पुरञ्जन आचार्य पनि भविष्यमा कसरी जाने भन्ने विमर्श नगरी कांग्रेस महासमिति बैठक सकिएको बताउँछन्। ‘सांगठनिक, राजनीतिक, आर्थिक प्रतिवेदनहरु पेस भए, सामान्य कर्मकाण्ड गरियो,’ कांग्रेसलाई नजिकबाटै अध्ययन गरिरहेका आचार्यको टिप्पणी छ, ‘विगतको चुनावी पराजयको समीक्षा भएन। चुनाव किन हारियो? कस्ता रणनीतिक भुलहरु भए? भविष्यमा कसरी जाने? भन्नेमा विमर्श नै भएन।’
राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनाल पनि यसमा सहमत छन्। ‘मुख्य कुरा महासमितिले ड्राइभ दिन सकेन,’ खनालको भनाइ छ, ‘पदाधिकारी कति बनाउने, को नेतृत्वमा बस्ने भन्ने कुरा पार्टीमै लाग्नेका लागि ठूलो कुरा होला। तर, हाम्रा लागि त्यो पक्ष महत्वपूर्ण होइन।’
‘जनताले भन्नुपर्थ्यो कांग्रेसले उत्कृष्ट विधान बनायो भनेर। विधान त पार्टीको आन्तरिक जीवनको कुरा हो, यसमा जनतालाई के सरोकार? अन्तर्राष्ट्रिय क्षेत्रलाई के चासोमा यसमा?’
कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका विश्लेषक पुरुषोत्तम दाहाल भने अहिले कुनै पनि दलमा धेरै सैद्धान्तिक भिन्नता नभएको भन्दै आचरणबाट त्यसमा भिन्नता देखाउनुपर्ने तर्क गर्छन्।
‘अहिले सैद्धान्तिक भिन्नता भेट्टाउन निकै कठिन छ,’ दाहाल तर्क पेस गर्छन्, ‘सबैका सिद्धान्त उस्तै छन्। लोकतन्त्र, गणतन्त्र, संघीयता सबैले मानेकै छन्। यसमा अब आचरण र जीवन पद्धतिले फरक देखाउन सक्नुपर्छ।’
कम्युनिस्टले कपी गर्नैपर्ने के छ विधानमा?
महासमिति बैठक समापनलगत्तै कांग्रेस नेताहरु अति उत्साहित भए, विशेषगरी विधानका विषयलाई लिएर। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमितिले पारित गरेको कांग्रेसको नयाँ विधान विश्वमै उत्कृष्ट भएको उद्घोष गरे। प्रवक्ता विश्वप्रकाश शर्मा यो मामिलामा झन् उत्साहित देखिए। कांग्रेसको विधान अब नेपालका कम्युनिस्टले समेत कपी (नक्कल) गर्ने दाबी उनले गरे।

आखिर के छ त त्यस्तो कांग्रेस विधानमा; जुन कम्युनिस्टले समेत कपी गर्नेछन्?
कांग्रेसले यसअघिसम्म आफ्नो पार्टीलाई संघीय संरचनाअनुरुप रुपान्तरण गरेको थिएन। पुरानै ढाँचाको संगठन संरचनाले कांग्रेसले चुनावसमेत लड्यो। यो महासमितिले भने कांग्रेसको संरचनालाई संघीयता अनुकूलको बनाउनेगरी विधान पास गर्यो। अब कांग्रेसका संगठनहरु संघीयता अनुरुपका हुनेछन्।
त्यसका अलावा कांग्रेसले पहिलोपल्ट कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने विधानमा व्यवस्था गरेको छ। अब कांग्रेसमा एक सभापति, दुई–दुई उपसभापति, महामन्त्री रहनेछन् भने सात सहमहामन्त्री रहनेछन्; जुन जातीय कलस्टरअनुसार निर्वाचित हुनेछन्। र, केन्द्रीय समितिमा आउने सदस्यहरुमा पनि समोवशितालाई संविधानमै भएको व्यवस्थाअनुसार लागू गरिनेछ।
कांग्रेस नेता पौडेलले भने यसलाई सकारात्मक उपलब्धि मानेका छन्। उनी भन्छन्, ‘संघीय संरचना अनुरुपको विधान बन्यो। संघीयता अनुकूलको विधान बनाउने पार्टीमा कांग्रेस पहिलो भयो।'
विधानले समावेशितालाई राम्रोसँग आत्मसात गरेको छ। संविधानमै व्यवस्था गरेको जातीय कलस्टरको कुरालाई पनि विधानले सम्बोधन गरेको छ।
प्रवक्ता शर्मा पनि यसलाई उपलब्धि ठान्छन्। भन्छन्, ‘महासमितिले विधानलाई आधुनिकीरण गर्यो। वैचारिक, आर्थिक नीतिमा प्रस्टता ल्यायो। धेरैपछि फाटेका मनहरुलाई जोडेर हामी एक भएको मनोवैज्ञानिक सन्देश दिन सफल भयौं। समग्रमा महासमिति बैठक उपलब्धिमूलक नै रह्यो।’
तर, विश्लेषक आचार्य भने यसमा सहमत छैनन्। विधान पार्टी जीवनको आन्तरिक कुरा भएकाले जनतालाई यसमा खासै सरोकार नहुने बताउँछन्, उनी। ‘कांग्रेसले उत्कृष्ट विधान बनायौं भनिरहेको छ,’ आचार्य भन्छन्, ‘जनताले भन्नुपर्थ्यो कांग्रेसले उत्कृष्ट विधान बनायो भनेर। विधान त पार्टीको आन्तरिक जीवनको कुरा हो, यसमा जनतालाई के सरोकार? अन्तर्राष्ट्रिय क्षेत्रलाई के चासोमा यसमा?’
उनी विधान हार्डवेयर मात्रै भएको भन्दै वैचारिक कुरामा महासमिति चुकेको बताउँछन्। ‘विधान हार्डवेयर मात्रै हो, यसबाट पार्टी सञ्चालन गर्ने र नीतिलाई कार्यान्वयन गर्ने नेतृत्व चुनिन्छ,’ उनको भनाइ छ, ‘तर, कांग्रेसले सफ्टवेयर (वैचारिक नीति) मा त कुनै परिवर्तन ल्याउन सकेन।
हार्डवेयर फेरिए पनि कांग्रेस पुरानै सफ्टवेयर बोकेर हिँडिरहेको उनले तर्क गरे।
पराजयको न समीक्षा, न आत्मालोचना
महासमिति बैठक समापन समारोहलाई सम्बोधन गर्दै सभापित देउवाले भनेका थिए, ‘साथीहरुले चर्कै आलोचना गर्नुहुन्छ होला भन्ने लागेको थियो तर त्यस्तो चाहिँ भएन।’
देउवाको यो भनाइबाट थाहा हुन्छ, चुनावी पराजयका बारेमा आफूविरुद्ध तिखा टिप्पणी हुने र आफूले आत्मआलोचना गर्नुपर्ने अवस्था आउन सक्नेबारे उनी जानकार थिए। उनी लगायतको नेतृत्वले आत्मालोचना पनि गरेन, चुनावी पराजयको समीक्षा पनि भएन।

कांग्रेस युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव र किरण यादव लगायतको समूहले निर्वाचन परिणामलगत्तैको केन्द्रीय समिति बैठकमा चुनावी पराजयको समीक्षा गर्नुपर्ने भन्दै ५१ पृष्ठ लामो प्रतिवदेन पेस गरेका थिए।
उक्त प्रतिवेदन महासमिति बैठकमा पनि पेस भएको थियो, तर नेतृत्वले त्यसलाई खासै महत्व दिएन। उक्त प्रतिवेदनमा चुनावी पराजयका कारणहरु उल्लेख थिए।
त्यसमा, संविधानमा असन्तुष्टिको सम्बोधन गर्न नेतृत्वले नसकेको, नाकाबन्दीमा मौन बसेको, संविधान निर्माणपश्चात् सरकार गठनका बेला पूर्वसहमति तोडेर गल्ती गरेको, स्थानीय चुनावमा अनावश्यक रुपमा माओवादीसँग सहकार्य गरेको र सुशासनको सन्दर्भमा देउवाको ट्रयाक रेकर्ड राम्रो नहुनुलाई चुनावी हारको कारणका रुपमा उल्लेख गरिएको छ।
कांग्रेस प्रवक्ता शर्मा चुनावी पराजयको समीक्षा र आत्मालोचनाको विषय चुनावलगत्तै बसेको केन्द्रीय कार्यसमितिबाट टुंगिएकाले महासमिति बैठकमा नउठेको बताउँछन्।
विश्लेषक आचार्यले भने नेतृत्वले चुनावी हारको जिम्मासमेत नलिएको टिप्पणी गरे। ‘चुनावमा कांग्रेसले पनि गठबन्धन गरेको थियो। त्यसमा कति कमजोरी भए? छलफलसमेत भएन। कांग्रेसले प्रतिपक्षीको रुपमा किन प्रभावकारी भूमिका खेल्न सकिरहेको छैन? यसबारेमा पनि कुरै भएन,’ उनी भन्छन्।
राजनीतिशास्त्री खनाल विकसित देशमा चुनाव हारेपछि नेताहरू त्यसको नैतिक जिम्मेवारी लिएर पार्टीको नेतृत्वबाट हट्ने गरे पनि नेपालका पार्टीमा त्यस्तो अभ्यास नदेखिएको बताउँछन्।
‘बिपीको समाजवाद’ भन्दैमा पुग्ला?
आफ्नो अर्थराजनीतिक नीतिबारे बोल्नुपर्दा कांग्रेसका कुनै पनि नेता, कार्यकर्ता बिपी कोइरालाले प्रतिपादन गरेको ‘प्रजातान्त्रिक समाजवाद’लाई छुटाउँदैनन्। पछिल्लो समय उनीहरु यसलाई लोकतान्त्रिक समाजवाद पनि भन्न थालेका छन्।
भर्खरैको महासमिति बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत ‘आर्थिक नीति प्रस्ताव’मा लोकतान्त्रिक समाजवाद कांग्रेसको आर्थिक नीतिको मूल आधार हुने उल्लेख छ।
२०१२ सालमा कांग्रेसको वीरगन्ज महाधिवेशनले पहिलोपल्ट त्यसलाई पारित गरेको थियो। त्यतिबेला र अहिलेको ठूलो परिवर्तन आएको सन्दर्भमा के कांग्रेसले ‘बिपीको समाजवाद’ भन्दैमा मात्र पुग्ला त? गगन थापा लगायतको कांग्रेसको युवा समूह त्यसले मात्रै अब नपुग्ने बताउँछ। उनीहरु समाजवादका सन्दर्भमा सामयिक व्याख्या आवश्यक रहेको बताउँछन्।
विश्व समाजवादी आन्दोलन धेरै कित्तामा विभाजित भई प्रत्येक देशले आफ्नो परिस्थिति र आवश्यकताअनुसार आफ्नै समाजवादी बाटो तय गरेको भन्दै कांग्रेसले पनि त्यसमा परिवर्तन गर्नु आवश्यक रहेको तर त्यसो नभएको उनीहरुको ठम्याइ छ। ‘बरु यस विषयमा जननायक बिपी कोइरालाले के गर्ने भनेर बताइसक्नुभएको छ, त्यसैलाई पछ्याउनुपर्छ भन्यौं,’ थापा लगायत १२ जना युवा नेताले महासमिति बैठकमा छुट्टै पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘तर के साँच्चिकै बिपी कोइरालाले सरकारमा गएपछि हाम्रो आर्थिक नीति र कार्यक्रम कस्तो हुनुपर्छ भनेर सबै बताउनुभएको थियो त? थिएन। हामीले बिपीले समाजवादी कार्यक्रमको विषयमा सम्पूर्ण कुरा बताइसक्नुभएको छ भन्ने किसिमले व्याख्या गर्यौं र सोहीअनुसार बुझ्यौं पनि। तर त्यस्तो थिएन।’
विश्लेषक आचार्य खुला बजार अर्थतन्त्रबारे विश्वमा बहस चलिरहेको भन्दै कांग्रेसले पनि आफूले अँगालेको अर्थनीतिबारे बहस गर्नु आवश्यक रहेको ठान्छन्। भन्छन्, ‘कांग्रेसले अंगीकार गरेको खुला बजार अर्थतन्त्रको नीतिमा अहिले विश्वभर बहस छ। महासमितिमा त्यसबारेमा छलफल हुनुपर्थ्यो तर भएन।’
विचार बदलेका ती महासमिति
कांग्रेसको अहिलेको महासमिति बैठक आफूलाई वैचारिक रुपमा परिवर्तन र प्रस्ट पार्न कत्तिको सफल रह्यो भन्ने बुझ्न उसका विगतका केही महासमिति बैठकमाथि एकचोटि नजर लाउनु वाञ्छनीय हुन्छ। जसबाट थाहा लाग्छ, नीतिगत परिवर्तनमा ती महासमिति बैठक निकै फलदायी थिए।

व्यापक नीतिगत परिवर्तनमा २००७, २०१४, २०४६ र २०६४ सालका महासमिति बैठकलाई कोशेढुंगाका रुपमा लिइन्छ। पहिलोपटक २००७ सालमा भारतको बैरगनियामा भएको महासमिति बैठकले सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको थियो। त्यस्तै २०१४ सालमा वीरगन्जमा बसेको बैठकले संसदीय निर्वाचन स्वीकार गर्ने निर्णय गरेको थियो।
२०४६ मा काठमाडौंको चाक्सीबारीमा बसेको महासमिति बैठकले पञ्चायत शासनविरुद्ध जनआन्दोलनमा जाने र त्यसको नेतृत्व गणेशमान सिंहलाई सुम्पने निर्णय गरेको थियो। २०६४ मा ललितपुरमा बसेको बैठकले संवैधानिक राजतन्त्रलाई विधानबाटै हटाउने र गणतन्त्रमा जाने औपचारिक निर्णय गरेको थियो।
नक्कली ‘डिप लभ’
अपेक्षाविपरीत लम्बिएको महासमिति बैठक समापन गर्दै सभापति देउवाले वरिष्ठ नेता पौडेल र आफूबीच ‘डिप लभ’ परेको बताएका थिए। महासमिति बैठक उद्घाटन गर्ने दिन एक-अर्काको अनुहारसमेत हेर्न अनिच्छा देखाएका उनीहरुबीच अचानक परेको ‘डिप लभ’बारे भने धेरैलाई शंका छ।
पौडल र आफूबीच निकै विवाद भएपछि बोलचालका लागि समेत देउवाले मध्यस्थता गरिदिन आफूनिकट केही नेतालाई भनेको २४ घन्टा बित्न नपाउँदै यसरी टुसाएको गहिरो प्रेम साँच्चिकै सक्कली हो त? कांग्रेस युवा नेता पौडेल कार्यकर्तालाई आफूहरु मिलेको मनोवैज्ञानिक सन्देश दिन नेताहरुले यस्तो बोलेको बताउँछन्।
‘जाँदजाँदै कार्यकर्ताहरुलाई उत्साहित बनाऔं भन्ने उहाँहरुको मनसाय हो,’ उनी भन्छन्, ‘त्यो प्रेम सक्कली थियो या नक्कली आउँदा दिनमा उहाँहरुका व्यवहारबाट थाहा भइहाल्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।