रत्ननगर- कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखा परिन्। उनका अर्का चार वर्षका छोरा पनि छन्।
भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा आयोजना गरेको ‘न्यानो कार्यक्रम तथा पाठेघरको मुखको क्यान्सर तथा नेत्र परीक्षण’मा सन्तान जन्माउने विषयमा जानकारी लिन अनिता त्यहाँ आइपुगेकी हुन्।
'धेरै बच्चा जन्माएर के गर्नु, कमाइ राम्रो छैन, घर खर्च चलाउनै मुस्किल छ', उनले भनिन्, 'दुई सन्तान, ईश्वरका वरदान हुन्, त्यसैले शिविरमा केही परामर्श पाइन्छ कि भनेर आएकी हुँ।'
सिद्धि क्षेत्र निवासी गणेश लामाकी ४ वर्षीया छोरी छिन्। 'धेरै सन्तान जन्माउने बस्ती भनेर पहिला चिनिन्थ्योे', आफ्नाे गाउँ सिद्धिका बारेमा सुरुमै उनले बताए, 'अब सानो परिवार भएको बस्ती भनेर चिनाउनै पर्छ, हामीजस्ता युवाले यो सन्देश दिन लागेका छौँ।'
साविकको सिद्धि क्षेत्रमा एउटै दम्पतीका १८ जनासम्म बालबच्चा भएका उदाहरणसमेत छन्। 'नयाँ पुस्ता सानो परिवार बनाउने अभियानमा छन्', आधारभूत विद्यालय कल्याणचौरका प्रधानाध्यापक दिनेश प्रजाले भने, 'पहिला चेतना नभएकाले रोग लागेर मर्ने डरले धेरै सन्तान जन्माउने प्रचलन थियो तर यो अवस्थामा सुधार आएकोे छ।' उनका अनुसार सिद्धि क्षेत्रमा मात्रै करीब २ सय ५० जनाले कक्षा १० सम्मको पढाइ पूरा गरिसकेका छन्। 'शिक्षित जनशक्ति तयार भएपछि अहिले थोरै सन्तान बनाउने परिवार बन्न थालको र मृत्युदर तथा जन्मदरमा पनि कमी आएको प्रधानाध्यापक प्रजाले दाबी गरे।
रेन्तेस गाउँका अगुवा मानबहादुर प्रजा परिवार नियोजन गर्न नमान्ने समुदाय सचेत बन्दै जान थालेको बताउँछन्। 'थोरै सन्तान चाहने दम्पती धेरै छन्, वडातहमै परिवार नियोजनबारे सेवा दिन सके अझै कमी आउने थियो', उनले भने, 'बन्ध्याकरण गर्न भरतपुर जाँदा निकै सास्ती खेप्नुपर्छ, बेलाबखत गाउँमा हुने शिविरले त्यहाँसम्म जान सहज भएको छ।'
कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले वडातहमा स्वास्थ्यचौकी नहुँदा स्थानीयवासीले निकै सास्ती खेप्नुपरेको बताए। चेतनास्तरमा सुधार भएपनि स्वास्थ्य सेवा लिन सास्ती खेप्नुपर्ने भएकाले स्वास्थ्यचौकी र एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य आफूले लिएको उनले सुनाए।
नेपाल परिवार नियोजन सङ्घका सदस्य निर्मल पौडेलले शिविरमा १६ महिलाले स्थायी बन्ध्याकरण गर्न तयार भएकाे बताए। 'थोरै सन्तान सबैको चाहना बनेको छ', उनले भने, 'घरसल्लाह गरेर बन्ध्याकरण गर्ने प्रतिबद्धता गरेका छन्, आवश्यक परे निःशुल्क सेवा दिन पनि तयार छौँ।'
सो अवसरमा ४० जनाले पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका थिए। 'जोखिम अवस्था भेटिएन, सामान्य संक्रमण हुने धेरै आए', विपि काेइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम तथा नियन्त्रण विभागकी वरिष्ठ नर्स अयोध्या पाठकले भनिन्, 'बेलाबखत स्वास्थ्य जाँच गर्न नपाएको गुनासो गर्ने धेरै थिए, शिविरलाई अभियानका रुपमा चलाउन सके सम्भावित जोखिम कम गर्न सकिने छ।'
सो अवसरमा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा करीब १ सय ५० जनाको आँखा परीक्षणसमेत गरिएको थियो।
(समाचार-रासस/तस्बिर-नारायण ढुंगाना)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।