काठमाडौं– युवा स्वरोजगार र स्वावलम्बनको विषय मुख्य कथावस्तु रहेको फिल्म गोपीले प्रचारको नयाँ शैली अपनाएको छ। फिल्मले कविता प्रतियोगिता आयोजना गरी प्रचारशैली फेरेको हो।
आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गोपीले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो। फिल्म युनिटका अनुसार प्रतियोगितामा भाग लिन चाहनेले स्वावलम्बनको विषयलाई केन्द्रमा राखेर कविता तयार गर्नु पर्नेछ।
जसमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ। त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ।
फिल्म युनिटका अनुसार उक्त कविता प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरूले भाग लिन पाउने छन्। निर्माण टिमका अनुसार फिल्म गोपीको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ। प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरी बिजेता तथा उप-बिजेता घोषणा गर्नेछन्। मूल्यांकन गरेर विजेता छनोट गर्नेछन्।
आगामी माघ १८ गते फिल्म रिलिज हुँदैछ। सामीप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन्। फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटालगायतको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।