एजेन्सी- जापानमा आइतबार मतदान भइरहेको छ। प्रधानमन्त्री सिन्जो आबेले संसदको एक वर्ष समय बाँकी हुँदै मध्यावधि चुनाव घोषणा गरेका थिए। मतदान स्थानीय समयअनुसार बेलुकी ८ बजेसम्म हुनेछ।
सत्तारुढ आबेको दल लिबरल डेमोक्रेटिक पार्टीले संसदमा बहुमत जित्ने अपेक्षा गरिएको छ। एक जना जापानी मतदाताले आबेको विकल्प नभएकाले आफूले उनको दललाई मत दिएको बताए।
आबेले संसदमा दुई तिहाइ सिट जित्ने अपेक्षा राखेका छन्। उनले दुई तिहाइ सिट जिते संविधानमा आफूले चाहेजस्तो संशोधन गर्न सक्नेछन्। खासगरी उनी दोस्रो विश्वयुद्धपछि स्थापित सुरक्षा बललाई जापानको राष्ट्रिय सेनामा परिणत गर्न चाहन्छन्।
त्यहाँका विपक्षी दलहरू जापानीहरूलाई रिझाउन नसकेका बेला टोक्योकी गभर्नर युरिको कोइकेले पनि आबेलाई चुनौती दिन नसक्ने अनुमान गरिएको छ।
त्यहाँको दक्षिणी भूभाग क्याटागोरी ४ को टाइफुन ल्यानले दुःख दिइरहेका बेला आइतबार मतदान भइरहेको हो। टाइफुनले देशको दक्षिणी भूभागमा शक्तिशाली हुरी र मुसलधारे पानी पारिरहेको छ। टाइफुनका कारण त्यस क्षेत्रमा रेलमार्ग र हवाई यातायात ठप्प भएको छ।
टाइफुन सोमबार बिहान राजधानी टोक्यो पुग्ने अनुमान जापान मिटरोलजिकल एजेन्सीले गरेको छ।
आबेले गत सेप्टेम्बर २५ मा देशमाथि आइपरेको ‘राष्ट्रिय संकट’को समाधान गर्न ताजा जनादेश आवश्यकता रहेको भन्दै मध्यावधि चुनावको घोषणा गरेका थिए। उत्तर कोरियाले जापानलाई समुद्रमा डुबाइदिने भन्दै बारम्बार दिने धम्की र उत्तरी टापु होक्काइडो माथिबाट प्रहार गरेको दुई मिसाइलको सन्दर्भ समेत जोडेर आबे ताजा जनादेश लिन चुनावमा गएका हुन्।
तीबाहेक आणविक ऊर्जासम्बन्धी नीति र करसम्बन्धी विवाद छिनोफानो गर्न पनि उनी चुनावमा गएको बताइन्छ।
उनी जापानमाथिको सुरक्षा चुनौतीको सामना गर्न सामरिक रुपमा सक्रिय हुनबाट रोक्ने संविधानमा संशोधन गर्न चाहन्छन्। संविधान संशोधन गर्न आफ्नो दललाई आवश्यक बहुमत जित्न उनले मध्यावधी चुनाव घोषणा गरेका हुन्।
दोस्रो विश्वयुद्धपछिको संविधानले जापानलाई सामरिक सक्रियता, हातहतियार विकास, उत्पादन र निर्यातमा रोक लगाएको छ। आबे अहिले जापानमाथि बढेको सुरक्षा चुनौतीका कारण यो संवैधानिक निक प्रावधान अन्त्य गरी जापानलाई सामरिक रुपमा सक्रिय बनाउन चाहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।