जनकपुर– जनकपुरमा जारी दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिली सम्मेलन दश बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ।
सम्मेलनले प्रदेश १ र २ मा कामकाजीको भाषा मैथिली बनाउन माग गरेको छ।
दुवै प्रदेशमा प्रदेश स्तर र स्थानीय तहको सरकारी, अर्धसरकारी तथा गैर सरकारी कार्यालयहरूमा मैथिलीलाई कामकाजी भाषा बनाउनु पर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।
यसैगरी नेपालका विद्यालयहरूको पाठ्यक्रममा प्रारम्भिक बालशिक्षादेखि कक्षा १२सम्म सय पूर्णाङ्कको एउटा पत्र मातृभाषामा अनिवार्य राखिनुपर्ने सम्मेलनले माग गरेको छ।
घोषणापत्रमा प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्म अनिवार्य रुपले मातृभाषाको माध्यमबाट शिक्षण र विद्यार्थी मूल्यांकन गरिनुपर्ने, मैथिली भाषामा पत्रकारिता गर्नेहरूका लागि वृत्ति विकासको व्यवस्थाका साथै छापा र विद्युतीय सञ्चारमाध्यमहरूलाई राजकीय संरक्षण दिनुपर्ने उल्लेख छ।
प्रदेश १ र २ लाई मुख्य कार्यक्षेत्र बनाउँदै मुलकभरका मैथिली भाषाको संरक्षण र सम्वद्र्धनका लागि मैथिली एकेडमी स्थापना गर्न सम्मेलनले सुझाव दिएको छ।
लोकसेवा आयोगदेखि अन्य आयोगहरुको परीक्षाको माध्यममा मैथिली भाषालाई मान्यता दिन, यस क्षेत्रको पर्यटकीय विकासका लागि मिथिला पर्यटन सर्किटको निर्माण, प्रदेशस्तरमा शोध केन्द्रको स्थापना र मैथिली शोधवृत्तिको व्यवस्था गर्न सम्मेलनले सरोकारवालासँग माग गरेको छ।
‘नेपालको संविधान २०७२’ मा व्यवस्था भएअनुसार भाषा आयोगलाई पूर्णता दिँदै मैथिली भाषाका विज्ञलाई समानुपातिक प्रतिधिनित्व गराउनुका साथै संविधानमा एउटा अनुसूची कायम गरेर नेपालका समृद्ध भाषाहरुलाई सूचीकृत गर्न सम्मेलनले सरकारलाई सुझाव दिएको छ।
शनिबार र आइतबार गरी दुई दिनसम्म जनकपुरमा चलेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तथा भारतबाट करिब दुई सयको संख्यामा मैथिलीहरू सहभागी थिए।
सम्मेलनमा जनकपुरस्थित मिथिला नाट्यकला परिषद मार्फत मैथिली नाटकलाई संस्थागत गर्न सहयोग गरेका स्वर्गीय योगेन्द्र साह नेपालीलाई मरनोपरान्त मिथिला रत्न पुरस्कारले सम्मानित गरिएको छ।
यसैगरी नेपालका चर्चित गायक विराटनगरका रमा मण्डल र भारत मधुवनीका संस्कृत भाषाका विद्वान डा. जयनारायण यादव पनि मिथिला रत्न पुरस्कारबाट सम्मानित भएका छन्।
सम्मेलनमा भोजपुरी साहित्यमा कलम चलाउँदै आएका गोपाल अस्कलाई मिथलाश्री र भारत मुम्बईका दीपक झालाई अन्तर्राष्ट्रिय सद्भाव सम्मान प्रदान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।