काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको नेतृत्व लिन सबै सरकारी निकायलाई निर्देशन दिएका छन्। जनताले सरकारलाई आफ्नो मत दिएर सहयोग गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले शुसासन र विकासको नेतृत्व गर्ने दायित्व र जिम्मेवारी सरकार मातहतका निकायको भएको बताएका हुन्।
आइतबार काठमाडौंमा सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराधमुक्त समाज निर्माणमा नेतृत्वदायी भुमिका निर्वाह गर्न महान्यायाधिवक्ता र मातहतका निकायलाई आग्रह गरेका हुन्।
'समाजलाई अपराधमुक्त बनाउन प्रभावकारी अनुसन्धान गरी अभियोजनमा जानुपर्नेछ,' उनले भने, राजनीतिक स्थिरता र स्थायित्व कायम भएको छ। विकास र समृद्धि हासिल गर्ने सवालमा सरकारसँग स्पष्ट नीति छ।'
३ दिनसम्म चल्ने सम्मेलनमा फौजदारी संहिताको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा छलफल गरी साझा धारणा तय गरिनेछ।
सम्मेलनमा महान्यायाधिवक्ता, २३ जना सहमहान्यायाधिवक्ता सहित ३ सय ७९ जना सरकारी वकिल र ८० बढी प्रतिनिधिहरू पर्यवेक्षकको रुपमा सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।