काठमाडौं- काठमाडौंमा घर भएर पनि भाडाबापतको रकम संसद सचिवालयबाट लिने सांसदहरू विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। कानुन बनाउने थलोमा जनताले चुनेर पठाएका प्रतिनिधिहरूले राज्यलाई आर्थिक नोक्सानी पुर्याउनु भ्रष्टाचार भएको जिकिर निवेदनमा गरिएको छ।
यस्ता सांसदहरूलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको लागि आदेश जारी हुनुपर्ने माग निवेदनमा गरिएको छ।
आइतबार सर्वोच्च अदालतमा दर्ता भएको निवेदनको सोमबार सुनुवाइका लागि पेसी तोकिएको छ। शुक्रवार नै निवेदन सर्वोच्चमा पेस भएको थियो।
अधिवक्ता सन्तोष भण्डारीद्वारा दायर गरिएको रिट निवेदनमा गैरकानूनी रूपमा लिइएको घरभाडा सांसदहरूबाट सरकारी बक्यौता सरह असुल उपर गर्न अन्तरिम आदेशको माग गरिएको छ।
निवेदनमा यस्तो रकम महालेखा परीक्षकको कार्यालयलाई बेरुजु राख्न र रकम लिने सांसदहरूको नाम समेत सार्वजनिक गर्न माग गरिएको छ।
केही दिन पहिले काठमाडौंमा घर भएका र मन्त्री निवासमा परिवारसहित बसोबास गर्दै आएका सांसदहरुले समेत घरभाडा लिँदै आएको समाचार सार्वजनिक भएको थियो।
उक्त कुरा सार्वजनिक भएपछि केही सांसदहरुले सचिवालयमा घरभाडाबापत लिएको रकम फिर्ता समेत गरेका थिए। सचिवालयले गलत तथ्यांक राखेर घरभाडाको रकम बैंक खातामा हालेको भन्दै उनीहरुले फिर्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।