मुम्बई (एजेन्सी)– भारत र न्युजिल्यान्डबीचको पहिलो एकदिवसीय खेल आज दिउँसाे २ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ। यसअघि अस्ट्रेलिया र श्रीलंकालाई पराजित गरेको भारतीय टिमको मनोवल यति बेला उच्च छ। त्यसैले शृंखलामा भारतको स्थिति बलियो मानिएको छ।
फेरि घरेलु पीचको फाइदा पनि भारतलाई हुने बताइएको छ। भारतले श्रीलंकालाई ५–० र अस्ट्रेलियालाई ४–१ ले पराजित गरेको थियो। केही समयअगाडि न्युजिल्यान्डका कप्तान केन विलियम्सनले पनि स्विकार गरेका थिए, घरेलु मैदानमा भारत विश्व कै सबैभन्दा खतरनाक टिम हो।
भारतको ब्याटिङ लाइनअप विश्व क्रिकेटकै बलियो लाइनअपमा पर्छ। फेरि ब्याट्सम्यान पनि फर्ममा छन्। यसमा पनि पछिल्लो समय भारतीय बलरले देखाएको उच्च प्रदर्शनका कारण यो टोलीलाई हराउन गाह्रो पर्ने स्पष्ट छ।
भारतीय टोलीमा भुवनेश्वर कुमार, जसप्रीत बुमराह जस्ता खतरनाक बलर त झदैँ छन्, यसमा पनि कुलदीप यादव र यजुवेन्द्र चहलको रुपमा स्तरीय स्पिनर समावेश छ। यो जोडीले अस्ट्रेलिया विरुद्धको शृंखलामा खतरनाक बलिङ गरेको थियो।
भारत अहिले न्युजिल्यान्डलाई पराजित गरेर एकदिवसीयमा गुमाएको शीर्ष स्थानलाई पुनः प्राप्त गर्न चाहन्छ। यसै साता दक्षिण अफ्रिकाले भारतसँग यो उपाधि खोसेको थियो।
भारतको तुलनामा न्युजिल्यान्डको बलर तिब्र मानिन्छन्। त्यसैले यो शृंखलामा पनि भारतलाई न्युजिल्यान्डको बलरको सामना गर्नुपर्ने छ। भारतसँग शिखर धवन, रोहित शर्मा, अजिङ्क्य रहाणे र महेन्द्रसिंह धोनी जस्ता अनुभवी ब्याट्सम्यान छन् फेरि कप्तान विराट कोहली पनि उत्कृष्ट फर्ममा देखिन्छन्।
विराटले आफूलाई तेस्रो नम्बरमा राखेका छन्। त्यसैले चौथो नम्बरमा कसले ब्याटिङ गर्ने हो, यो सबैका लागि कौतुहलताको विषय बनेको छ। यसअघिको शृंखलामा भारतले युवा खेलाडीलाई मौका दिएको थियो। जसमा हार्दिक पाण्ड्या, मनिष पाण्डे र केदार जाधव थिए।
उनीहरुले भारतको जितमा अहम भूमिका निर्वाह पनि गर्दै आइरहेका छन्। दिनेश कार्तिकलाई पनि यो शृंखलाका लागि टिममा समावेश गरिएको छ। पाण्ड्या पनि उत्कृष्ट लयमा छन्। त्यसैले चौथो नम्बरमा कसले मौका पाउने हुन? यस विषयमा सबैको चासो छ।
न्युजिल्यान्ड विरुद्ध इन्डिया एको टिमबाट राम्रो प्रदर्शन गर्ने शार्दुल ठाकुरलाई पनि शृंखलामा स्थान दिइएको छ।
न्युजिल्यान्डको टिममा रोस टेलर, कप्तान विलियम्सन जस्ता स्तरीय ब्याट्सम्यान छन्। यस बाहेक पनि मार्टिन गुप्टिल, टम लाथम र कोलिन मुनरो राम्रो लयमा छन्। लाथम र गुप्टिलले भारतीय बोर्ड–११ विरुद्धको अभ्यास खेलमा सतक बनाएका थिए।
उपकप्तान रोहित शर्माले न्युजिल्यान्डको बलिङ भारतीय ब्याट्सम्यानका लागि चुनौती बन्न सक्ने बताएका थिए। किवी टोलीमा ट्रेन्ट बोल्ट, टिम साउथी, एडम मिलने र मेट हेनरी जस्ता उत्कृष्ट तीब्र बलर समावेश छन्। स्पिनरको भूमिकामा मिसेल सेन्टनर र कोलिन डि ग्रेन्डहोम समावेश छन्। त्यसैले यो शृंखला रोचक रहने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।