लन्डन (एजेन्सी)– इंग्लिस प्रिमियर लिगको गएराती सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी ३–० ले विजयी हुँदा उसको प्रतिद्वन्दी क्लब म्यानचेस्टर युनाइटेड लिगको नवआगन्तुक क्लब हुडर्सफिल्डसँग २–१ ले पराजित बन्न पुगेको छ।
यस्तै, डिफेन्डिङ च्याम्पियन चेल्सीले वार्टफोर्डलाई ४–२ र लेस्टर सिटीले स्वान्सीलाई २–१ गोलले पराजित गरेको छ।
९ खेलबाट २५ अंक जोड्ने क्रममा सिटीले बर्नले क्लबमाथि सहज जित दर्ता गर्यो। अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुईरोले ७८ वर्ष पुरानो इरिक ब्रुकको सर्वाधिक गोलको कीर्तिमानलाई बराबरी गर्ने क्रममा ३० मिनेटमा पेनाल्टीमार्फत गोल गरे।
ब्रुकले सिटीका लागि १ सय ७७ गोल गरेका थिए। कार दुर्घटनामा रिब्स भाँचेका अगुईरो तीन सातापछि मैदान प्रवेश गरेका थिए। दोस्रो गोल ७३ मिनेटमा ओट्मेन्डीले गरे। तेस्रो गोल लेरोय सानेले ७५ मिनेटमा गरे।
पछिल्लो केही समययता डिफेन्सिभ शैली पछ्याइरहेको म्यानचेस्टर युनाइटेडलाई भने पहिलो पल्ट लिग खेलिरहेको हुडर्सफिल्डले पराजित गर्यो।
खेललाई पूर्णत आफ्नो नियन्त्रणमा राखेर पनि युनाइटेडले खेल गुमायो। म्यानचेस्टर पहिलो हाफमै २ गोलले पछाडि परेको थियो। पहिलो गोल अस्ट्रेलियन मिडफिल्डर आरोन मोयले २८ मिनेटमा गरे।
अर्को गोल ३३ मिनेटमा लरेन्ट डिपोइट्रेले गरेका थिए। युनाइटेडका लागि ७८ मिनेटमा मार्कुस रासफोर्डले गोल फर्काए। यो नतिजापछि युनाइटेड २० अंकका साथ तालिकामा दोस्रो स्थानमा उभिएको छ।
यस्तै, गत सिजनको लिग विजेता चेल्सीले दोस्रो हाफपछि खेललाई नियन्त्रणमा लियो। पहिलो हाफ १–१ गोलको बराबरीमा रहेको अवस्थामा चेल्सीले दोस्रो हाफमा ३ गोल थप्यो। चेल्सीका लागि पेड्रोले १२ मिनेटमा गोल गरेका थिए।
वार्टफोर्डका डाउकुरेले पहिलो हाफको निर्धारित समयपछि थप गरिएको दोस्रो मिनेटमा गोल फर्काए।
चेल्सीको जितमा दोस्रो हाफमा मिची बात्सुआयीले ७१ र ९० मिनेटपछि थप गरिएको अतिरिक्त ५ मिनेटमा गोल गरे।
वार्टफोर्डले दोस्रो हाफको खेल सुरु भएको ४९ मिनेटमा गोल गर्दै खेलमा १–२ गोलको अग्रता बनाएको थियो। तर, बात्सुआयीको ७१ मिनेटको गोल चेल्सीका लागि महत्वपूर्ण बन्न पुग्यो। तेस्रो गोलको अग्रता भने डिफेन्डर सेसर एज्पिलिक्वेटाले दिलाएका थिए।
चेल्सी हाल ९ खेलमा १६ अंकका साथ चौथो स्थानमा छ। उ भन्दा एक खेल कम खेलेको टोटेनहम १७ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ।
अन्य खेलमा लेस्टर सिटीसहित न्युक्यासलले १–० ले क्रिस्टल प्यालेसलाई पराजित गर्यो। स्टोक भने बर्नेमाउथसँग १–२ गोलले पराजित भयो। साउथहाम्पटनले १–० गोलले वेष्ट ब्रुमलाई हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।