जनकपुरधाम- धनुषाको एक गाउँपालिकाले लाखौंको ईन्धन उधार लिएर भुक्तानी नदिएको भनि पेट्रोल पम्प संचालकले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
मुखियापट्टि मुसहरनिया गाउँपालिकाले लामो समयदेखि तेलको बक्यौता नतिरेको बताइएको छ। जनकपुरधाम उपमहानगरपालिका २० को बाबा पेट्रोल पम्पलाई गत साउनदेखिको झण्डै पाँच लाख रुपैंया बक्यौता राखेर गाउँपालिकाका पदाधिकारीले गाडी चढ्दै आएको आरोप लगाइएको छ।
पम्पका सँचालक विवेक कुमार साहले गाउँपालिकालाई पटक–पटक ताकेदा गर्दा पनि पेट्रोल/डिजेलको पैसा नतिरेको गुनासो गरेका छन्। उनले पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले बक्यौता चुक्ता नगरेको सार्वजनिक गरेका हुन्।
पैसाको ताकेता गर्दा गाउँपालिकका अध्यक्ष मनोज यादव, लेखापाल रामनरेश साहले आनाकानी गर्दै आएको पेट्रोल पम्प संचालक साहले बताए। 'गाउँपालिका कार्यालय पुगेर प्रमुख यादवसँग भुत्तानी माग्दा तत्कालीन अधिकृतसँग माग्नुस्, मैले पेट्रोल लिएकै छैन भनेर उल्टै हप्काएर पठाए,' उनले भने।
साहले प्रमुख यादवलाई फोन गरेर भुक्तानी बारे कुरा गर्दा कार्यालयको इँटा लैजाउ भनेर उल्टै धम्क्याएको भ्वाईस रेकर्ड पनि सुनाए। उनका अनुसार गाउँपालिकाकै लेटर प्याडमा पुस १ गतेसम्म गाउँपालिकाका पदाधिकारीले पेट्रोल र डिजेल माग गरी लगेका छन्।
‘गाउँपालिकासँग विगत एक वर्षदेखि नियमित कारोबार हुँदै आएको र ६ महिनासम्म नियमित भुक्तानी पनि गरेको छ। तर गत साउनदेखि पुस १ गतेसम्मको पैसा गाउँपालिकाले रोकेको छ। सम्झौता गर्दा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले आफ्नो सरुवा भईसकेकाले केही गर्न नसक्ने जफाव फर्काउँदै आएको छ,’ पत्रकार सम्मेलनमा उनले भने।
साहले सम्झौताको कागजपत्र आफूसँग सुरक्षित रहेको बताउँदै गाउँपालिका विरुद्ध प्रशासनमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको सुनाए। उनले पैसा नतिरेका कारण पुस २ गतेबाट इन्धन दिन रोकेको पनि बताए।
नेपाललाइभले गाउँपालिका प्रमुख यादवसँग पटकपटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सफल हुन सकेन। लेखापाल साहले गाउँसभा हुन नसकेका कारण रकम भुक्तानी दिन नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।