काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकलाई निशुल्क ग्रिन टीले स्वागत गर्ने सरकारको योजना रहेको बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै पहिलो ‘नमूना बुटिक विमानस्थल’को रुपमा विकास गरिने समेत उनको दाबी छ।
प्रधानमन्त्री ओलीले नेपालीपन झल्कने खालका गतिविधिद्धारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै विदेशी पर्यटकहरुलाई स्वागत गर्ने गरी ‘बुटिक विमानस्थल’ बनाउने योजना अघि सारिएको र सोही योजना अनुसार काम सुरु गरिएको पनि औपचारिक जानकारी गराए।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विमानस्थलमा नेपाली संस्कृति, इतिहास, कला, भाषा आदि झल्कने गरी कामलाई अघि बढाउने पनि स्पष्ट पारे। बाहिरबाट आउने पर्यटकलाई विमानस्थलमै नेपाली उत्पादन ग्रिन टी निःशुल्क खुवाएर स्वागत गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो।
प्रधानमन्त्री ओलीले सरकारले आफ्नो सभ्यता, संस्कृति, भेषभुषाको संरक्षण र विकासमा जोड दिएको पनि बताए। नेपालीपनलाई झल्काउने गरी त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको काम अघि बढाउन निर्देशन दिइएको पनि जानकारी दिए।
हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको कामलाई पनि सरकारले तीव्रता दिईरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।