काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने प्रयास भईरहेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई जस्तै आफू नेतृत्वको वर्तमान सरकारलाई पनि असफल गराउने प्रयास भईरहेको बताएका हुन्।
शनिबार काठमाडौंको बसन्तपुरमा आयोजित १५औं राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू देश र जनताको हितमा काम गरिरहेकाले कसैले केही बिगार्न नसक्ने पनि स्पष्ट पारे।
देश विकासका लागि आफ्नो प्रयास जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'आफ्नो विरोध गर्नेहरुले केही पनि बिगार्न नसक्नेमा म ढुक्क छु।'
सो अवसरमा प्रधानमन्त्री ओलीले धराहरा पुनर्निर्माणको काम २ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता पनि दोहोर्याए। भूकम्पले ध्वस्त बनाएको रानीपोखरीलगायतका सम्पदाहरुको पुनर्निर्माण पुरातात्विक महत्वको हुने भन्दै त्यसमा विरोध नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका प्रधानमन्त्री ओलीले भने, 'आफू नेतृत्वको अघिल्लो सरकारले अघि बढाएको सम्पदाहरुको पुनर्निर्माणको काम आफू सरकारबाट हट्नु परेपछि अलपत्र परेको छ।'
प्रधानमन्त्री ओलीले सांस्कृतिक चाडपर्वहरुको बिदा कटौती गर्ने निर्णय पुनर्विचार गर्ने पनि बताए। जनताको सेवा गर्ने समय थोरै भएकाले सांस्कृतिक चाडपर्वको बिदा कटौति गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पारेका थिए।
प्रधानमन्त्री ओलीले ज्यापू राष्ट्रिय दिवस कार्यक्रमका लागि १५ लाख आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। १५ दिन भित्र सरकारले सो सहायता ज्यापू समुदायलाई उपलब्ध गराउने उनले बताए।
कार्यक्रममा ज्यापू संस्कृतिको संरक्षणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए। ज्यापू संस्कृतिको संरक्षणका लागि बसन्तपुरमा ज्यापू संग्राहलय बनाउने योजना पनि अघि सारिएको छ।
नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो। निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो। नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिँदै आएको छ।
विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।