पोखरा– पोखरा महानगरको शनिबार बसेको कार्यपालिका बैठकले कर्मचारी समायोजन सम्बन्धी विभिन्न निर्णय गरेको छ। बैठकमा कर्मचारी समायोजनबारे पनि निर्णय गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए।
‘उहाँहरुलाई सर्वोच्चले जुन निर्णय गरेको थियो। त्यो आदेश अनुसार रहेका कर्मचारीलाई एकपटक प्रतिष्पर्धा गर्न दिने भन्ने निर्णय भएको छ,’ प्रवक्ता नेपालीले भने, ‘त्यसका लागि प्रदेश सरकारसँग महानगरले पहल गर्नेछ।’
समायोजनमा जान चाहने अथवा प्रतिष्पर्धामा जान चाहने प्रतियोगी प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने उनले सुनाए। हाल काम काज ठप्प गरेर आन्दोलनरत करार, अस्थायी कर्मचारीलाई भने आइतबारदेखि काममा आउन अपिल गरिने प्रवक्ता नेपालीले जानकारी दिए।
उनले स्थानीय तहका कर्मचारी संयोजनबारे केन्द्रसँग समन्वय र पहल गरिने बताए। ‘यससहित बैठकमा विभिन्न ४ शीर्षकमा निर्णय भएको थियो,’ उनले भने।
पोखरा महानगरको चौंथो नगरसभा सभागृहमा हुने जानकारी प्रवक्ता नेपालीले दिए। उनले भने, ‘चौंथाे नगरसभा माघको ११ र १२ गते गर्ने पनि कार्यपालिकाले गरेको छ।’
उनले महानगरभित्रका विभिन्न संरचना मापदण्डबारे ‘आंशिक’ निर्णय भएकोसमेत सुनाए। ‘जुन दोहोरो अथवा तेहरो मोहोडा परेको संरचनालाई पहिलो मोहोडालाई मापदण्ड लागू हुने र दोस्रो तेस्रो मोहोडालाई १ मिटरमात्रै मापदण्ड लागू हुनेछ,’ नेपालीले भने।
पहिले ती मोहोडाको ३ मिटर मापदण्ड लागू गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।