हेटौंडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रले कुनै पनि धर्मप्रति भेदभाव नराखेको बताएका छन्।
नगर ख्रिष्टियन समुदाय हेटौंडाद्वारा आज आयोजित ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री पौडेलले निरपेक्ष राष्ट्रमा सरकारले कसैप्रति भेदभाव नराख्ने बताए।
उनले धर्मको नाममा रहेको विकृति विसङ्गति हटाउन सबैलाई आग्रह गरे। कुनै पनि धर्मप्रति राज्यको हस्तक्षेप नभएको र जसलाई जुन धर्मप्रति आस्था र विश्वास छ, त्यो मान्न सकिने उनको भनाइ थियो। 'नेपाल गणतान्त्रिक एवम् लोकतान्त्रिक राष्ट्र हो, कसैले कसैलाई धर्मबिहीन एवम् धर्म परिवर्तन गराउन हुँदैन र धर्म मान्ने विषयमा सबै स्वतन्त्र छन्,' उनले भने।
मकवानपुरमा करिब ४० हजार क्रिश्चियन र करिब ६ सय वटा चर्च रहेको छ। नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी तथा १२ हजार चर्च रहेको सो संस्थाले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।