के तपाईलाई थाहा छ, विज्ञापनमा पहिलोपल्ट क्रिकेट खेलाडीको प्रयोग कहिले भयो? आखिर को थिए, विज्ञापन खेल्ने पहिलो क्रिकेट खेलाडी?
आजभोली टेलिभिजनमा विभिन्न व्यावसायिक सन्देशका लागि मोडलका रुपमा असंख्य क्रिकेट खेलाडी प्रयोग हुने गरेका छन्। यिनीहरुका गुरु थिए, इंग्ल्यान्डका प्रभावशाली ब्याट्सम्यान डेनिस चाल्र्स स्कट कोम्पटन। अर्थात डेनिस कोम्पटन।
उनी कसरी पहिलो विज्ञापन खेल्ने क्रिकेट खेलाडी बने, यसको कहानी रोचक छ। वास्तवमा मिडलसेक्सबाट काउन्टी क्रिकेट खेल्ने क्रममै उनी मोडलका रुप्मा विज्ञापनमा देखिन थालेका थिए।
कोम्पटनले टेस्ट क्रिकेटमा ‘डेव्यु’ सन् १९३७ मै न्युजिल्यान्ड विरुद्ध गरिसकेका थिए। बीचमा दोस्रो विश्वयुद्धका कारण उनको खेल पुरै प्रभावित बन्न पुग्यो। तर, दोस्रो विश्वयुद्ध समाप्त भएको दुई वर्षपछि सन् १९४७ मा उनले इंग्लिस क्रिकेटमै तहल्का मच्चाए। उनले त्यो सिजन एकै वर्षमा १८ सतकको सहयोगले ३ हजार ८ सय १६ रन मात्र बनाएनन्, इंग्ल्यान्डको भ्रमणमा निस्किएको दक्षिण अफ्रिकी टोली विरुद्ध ७ सय ५३ रन लिए।
यो खेलबाट प्रभावित मिडलसेक्सले त्यसको २ वर्षपछि सन् १९४७ मा उनलाई एउटा ‘बेनिफिट’ दिने निर्णय गर्यो। त्यतिबेला क्रिकेट खेलाडीले खासै पैसा कमाउँदैनथे। त्यसैले क्लबहरुले आफ्ना राम्रा खेलाडीको आर्थिक हैसियत बलियो बनाउन बेलाबेला खेलाडीको नाममा बेनिफिट म्याच गराउँथे।
यसबाट कोम्पटन निकै दंग परे। तर, क्लबले सबै आयोजनाको जिम्मा उनैलाई दिएछ। उनलाई परेछ आपत। एक त खेल आयोजना पनि गर्नुपर्ने, त्यसमा पैसा पनि आफैले उठाउनुपर्ने।
उनको दिमागले केही सोच्न सकिरहेको थिएन। एकदिन तनावमा रहेका कोम्पटनलाई उनका एक मित्रले सल्लाह दिएछन्, हिसाबकिताब मिलाउन एकजना चार्टड एकाउन्टेन्ट राख। उनलाई त्यो साथीको सल्लाह खुब मन परेछ। उनले तत्कालै बोजेनन हार्बे नाम गरेका चार्टर्ड एकाउन्टेन्ट नियुक्त गरेछन्।
हार्बे निकै चलाख थिए। दुरदुष्टी भएका। उनलाई राम्रैसँग थाहा थियो, पैसा कमाउने तरिकाको विषयमा।

त्यति बेला कोम्पटन इंग्ल्यान्डमा यति चर्चित थिए, उनको ठेगानामा आउने चिठीपत्र देखेर हार्बे दंग पर्थे। फेरि त्यति बेला टेलिभिजनको जमाना पनि थिएन। हार्बेलाई लागेछ, किन उनको लोकप्रियता नभजाउने?
हार्बेलाई यो पनि लागेछ, बेनिफिट म्याचले मात्र वास्तविक अर्थमा कोम्पटनको लोकप्रियताको मूल्य चुक्ता हुन सक्दैन। उनले एउटा जुक्ति निकाले। कोम्पटनको लोकप्रियता भजाउन कुनै व्यापारिक संस्थासँग उनीहरुको उत्पादनको मोडलिङ गर्ने।
उनले आफ्नो योजना कोम्पटनलाई सुनाए। कोम्पटनलाई पनि योजना मन परेछ। उनले सहमति जनाए।
त्यसपछि के चाहियो, चार्टर्ड एकाउन्टेन्ट हार्बे आफ्नो नयाँ योजना बोकेर रायडस एडभरटाइजिङ एजेन्सीकहाँ पुगे। पछि त्यही एजेन्सी कोम्पटनका लागि पहिलो व्यावसायिक अनुबन्ध खोज्न तल्लीन भयो।
हार्बेले विज्ञापनका लागि कोम्पटनको फोटो प्रयोग गर्न व्यापारिक संस्थाले १ सय पाउन्ड तिर्नुपर्ने प्रस्ताव अघि सारे। यसका लागि उनले पछि आउनसक्ने झमेलाबाट बच्न मिडलसेक्स र एमसिसीबाट स्वीकृति लिन कोम्पटनलाई आग्रह गरेका थिए।
त्यति बेलासम्म क्रिकेट खेलाडीले विज्ञापनका लागि एमसिसीलाई कुनै किसिमको पत्रचार गरेका थिएन्। त्यसैले उनलाई स्वीकृति लिन खासै अप्ठेरो परेन। मिडलसेक्स त सुरुदेखि नै उनको प्रस्तावप्रति सकारात्मक थियो।
यसै अवधिमा रायडस एडभरटाइजिङ कपालमा लगाउने क्रिम ‘ब्राल क्रिम’ सँग कोम्पटनको अनुबन्ध गराउन सफल भयो। यो अनुबन्धले कोम्पटन मैदानभित्रबाट मात्र होइन, बाहिरबाट पनि धन कमाउन सफल भए। यतिमात्र होइन, यो अनुबन्धपछि उनी क्रिकेट नहेर्ने व्यक्तिहरुका घरघरमा प्रवेश गर्न सफल भए, विज्ञापनका कारण।
विज्ञापनका कारण उनको अर्को परिचय पनि बनेको थियो, ‘बालक्रिम ब्वाई’।
कोम्पटनले अन्तिम टेस्ट सन् १९५७ मा दक्षिण अफ्रिकासँग खेले। उनले ७८ टेस्ट खेल्ने क्रममा १७ सतकको सहयोगले ५ हजार ८ सय ७ रन बनाए। तर, उनले टेस्ट खेल्न छाडे पनि पछिसम्म उनलाई प्रायोजन गर्नेको भिड लाग्यो।

काेम्पटन अाफ्नाे परिवारका साथ।
उनी फुटबलका पनि राम्रा खेलाडी थिए। उनले आर्सनलका लागि व्यवसायिक फुटबल खेले। उनी विङ्गरको भूमिकामा खेल्थे। सन् १९४८ मा आर्सनलले लिग उपाधि र १९५० मा एफए कपको उपाधि जित्दा उनी टोलीको मुख्य सदस्य थिए। उनले १९३६ र १९५० को बीचमा आर्सनलबाट ५४ खेल खेल्ने क्रममा १५ गोल गरेका थिए। चाल्र्टन विरुद्धको खेलमा गोलकिपरसँग जुध्न पुगेपछि उनको दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो। यसपछि उनी फुटबलमा देखिएनन्। उनले दोस्रो विश्वयुद्धको बेला इंग्ल्यान्डको टोलीबाट १२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका थिए। तर, त्यो अफिसियल थिएन्। उनको ७८ वर्षको उमेरमा १९९७ मा निधन भएको थियो।
कोम्पटनको प्रायोजनपछि व्यावसायिक सम्झौता गर्ने दोस्रो क्रिकेट खेलाडी थिए, अस्ट्रेलियाका अलराउन्डर किथ मिलर।
एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।